साहित्यपोस्टको संयोजन तथा लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीको सौजन्यमा स्थापित “साहित्यपोस्ट उत्तम काव्य पुरस्कार– २०७९”का लागि ५ काव्यकृतिको छनौट भइसइसकेको छ । यसै सन्दर्भमा उत्कृष्ट ५ (छोटो सूची) कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य भनेको “साहित्यपोस्ट उत्तम काव्य पुरस्कार”लाई लिएर उहाँहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो ।

यहाँ उत्कृष्ट ५ (छोटो सूची) मा छनोट भएको कवितासङ्ग्रह ‘कर्नाली हाँस्दो छ’का स्रष्टा मिमबहादुर परियारसँगको संवाद प्रस्तुत गरिएको छ ।

===

तपाईंको पहिलो कृति ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को छोटो सूचीमा छनौट भयो । कस्तो महसुस गर्नुभएको छ ?

पहिलो कृति प्रकाशन हुनु आफैँमा हर्षकाे पल थियो । त्यसमाथि प्रसिद्ध पुरस्कार सूचीमा पर्नु झन् ठूलो उत्सव, उत्साहले भरिएको थियो । यी दुईकाे मिश्रणले मन हर्षले गदगद हुनुका साथसाथै मेरो लेखाइमा केही सम्भावना पनि रहेको छ भन्ने भान भएको थियो ।

पुरस्कारको छोटो सूचीमा तपाईंको ‘कर्नाली हाँस्दो छ’ सहित उत्कृष्ट पाँच कृति छनोट भएका छन् अर्थात् तपाईंका प्रतिस्पर्धीका रूपमा बलिया कृतिहरू छन् । तपाईंले पुरस्कार जित्नु वा नजित्नुले तपाईंको आगामी साहित्यिक यात्रामा के अर्थ राख्छ ?

पुरस्कार जित्नु र नजित्नुमा ठूलो अन्तर हुन्छ । जित्नु एक प्रकारको उपलब्धि हाे भने नजित्नु थप मिहिनेत आवश्यक छ है भन्नु हाे । मेरो हकमा पुरस्कारले साहित्यिक यात्रामा केही फरक पार्दैन । साहित्य मेरा लागि रहर हाे । सपना हाे । र उदेश्य हाे । यी तीन पक्षलाई पुरस्कार जित्नु र नजित्नुले केही फरक पार्दैन । साहित्य लेखन निरन्तर चलिरहनेे छ ।

‘कर्नाली हाँस्दो छ’ किन लेख्नुभयो ? छोटोमा आफ्नो अनुभूतिसहित बताइदिनुहोस् न ।

“कर्नाली हाँस्दाे छ” जब्बर जात व्यवस्थाले सृजना गरेको उत्पीडनबाट जन्माएको कृति हाे । जब जब समाजमा जात व्यवस्थाका काला घटनाहरू घट्थे,  जातको नाममा कसैको हत्या भएको, जातकै कारणले ससाना नानीहरूले  समाजिक यातना भाेगेकाे, विभिन्न आराेप प्रत्याराेपका समाचार सुन्दा/पढ्दा  मन पुरै अशान्त हुन्थ्यो । मनमस्तिष्क पुरै आक्राेशित हुन्थ्यो पनि । यिनै आक्राेश, पीडा, वेदना शब्दमा पाेख्दा ‘कर्नाली हाँस्दाे छ’ जन्मिएको हाे ।

अर्काे कुरा, याे कवितासङ्ग्रह मेरो र मेरो समुदायको भावना हाे । सपना, रहर र बाध्यताकाे गाथा पनि हाे ।

युवा साहित्यकारहरुको झुकाव उपन्यास तथा कथातिर देखिएको समयमा तपाईंले चाहिँ किन कवितासङ्ग्रह ल्याउनु भयो ?

समाज परिवर्तन र रूपान्तरणमा कथा र उपन्यासकाे तुलनामा कविता बढी प्रभावकारी हुने भएर मैले कवितासङ्ग्रह ल्याएँ । अर्काे काेणबाट हेर्दा, कवितासङ्ग्रह दलित आन्दोलनको उपज पनि हाे । संसारमै  साहित्यमा सबैभन्दा प्रिय विधा हाे कविता । मानिसको प्रेम अन्य साहित्यिक विधाभन्दा कवितामा धेरै हुन्छ जस्तो लाग्छ । कविता छाेटाे र मिठो हुन्छ पनि । हजार शब्दले बाेल्ने अर्थ कविताका एक हरफले बाेल्दछन् । यिनै विविध कारण र अर्थले मैले कविता राेजेकाे हुँ ।

तपाईंले ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ पाउनु भएमा प्राप्त आर्थिक राशिले के गर्नुहुन्छ ?

किताब किनमेल तथा घर खर्चमा प्राप्त राशि प्रयोग गरिनेछ ।

अन्त्यमा, तपाईंका आगामी साहित्यिक यात्राका योजनाहरु के के छन् ? बताइदिनुहोस् न ।

सबै यहीँ ढङ्गले अगाडि बढेमा जिन्दगीभर साहित्यका विभिन्न विधामा कलम चलाउने छु । समयकाे माग र सहजताअनुसार कृतिहरू प्रकाशन गर्नेछु ।