जीवन लामा
दोलखा / भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा कवि मानबहादुर खड्का सम्मानित हुनुभएको छ । दोलखा संस्कृति प्रतिष्ठान र विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले आयोजना गरिएको आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्म जयन्तीको अवसरमा कवि खड्का सम्मानित हुनुभएको हो ।
दोसल्ला, सम्मान पत्र र नगद एघार हजार एक सय ११ रुपैयाँ नगदसहित कवि खड्कालाई सम्मान गरिएको दोलखा संस्कृति प्रतिष्ठानका अध्यक्ष शंकरलाल श्रेष्ठले बताउनुभयो । भानु–विद्यापति साहित्य पुरस्कार २०७९ बाट कवि खड्कालाई सम्मान गरिएको हो ।
भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा प्रदान गर्ने गरी स्थापना गरिएको यो पहिलो पुरस्कार हो । कवि खड्काले दोलखाको कला, साहित्य र संस्कृतिको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । कवि खड्काको विभिन्न पत्रपत्रिका, स्मारिका, अनलाइनहरूमा कविता प्रकाशित हुनुका साथै डाँडाको लाँकुरी नाम कवितासंग्रह पुस्तक पनि प्रकाशित भइसकेको छ ।
सम्मान कार्यक्रम दोलखा संस्कृति प्रतिष्ठानका अध्यक्ष शंकरलाल श्रेष्ठको अध्यक्षतामा र जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर, उपमेयर कमला बस्नेत, पूर्वमेयर भरत बहादुर केसी, दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा र विष्णुलक्ष्मी साहित्य पुरस्कार समितिका अध्यक्ष विष्णु सुवेदीले मन्तव्य व्यक्त गर्नुभएको थियो । सोही अवसरमा दोलखा साहित्य भाग ३ पनि विमोचन गरिएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।