अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ‘अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार’ प्राप्त स्रष्टाहरूलाई प्रमाणपत्र र पुरस्कार राशि वितरण गरिएको छ । नेपाल नाट्य तथा सङ्गीत प्रतिष्ठानका कुलपति रायन श्रेष्ठको प्रमुख आतिथ्यतामा काठमाडौँस्थिति नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बिच ‘अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार’ ११ पुरस्कृत स्रष्टाहरूलाई वितरण गरिएको हो ।

अनेसासले सन् २००३ देखि हरेक दुई-दुई वर्षमा प्रदान गर्दै आएको यो पुरस्कार कोभिडको महामारीका कारण यसअघि नै जुमका माध्यमबाट आयोजना गरी प्रदान गरिएको थियो । जसअनुसार अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार – २०२१ प्राप्त उपन्यास‘मैदारो’का लेखक भूपेन्द्र खड्का ‘भूपिन’लाई २१ सय अमेरिकी डलर नगद पुरस्कार, प्रमाणपत्र र अनेसासको आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यस्तै, माधव घिमिरे सर्वोत्कृष्ट काव्य पुरस्कार २०२१ प्राप्त कृतिहरु ‘आमा किरणहरुको छालमा’ कवितासङ्ग्रहकी लेखक गीता कार्की र ‘वीर्य जमिन’ कवितासङ्ग्रहकी लेखक बादल चाम्लिङलाई जनही १ हजार अमेरिकी डलर तथा प्रमाणपत्र प्रदान गरिएको छ । भने ‘अनेसास होमनाथ सुवेदी सर्वोत्कृष्ट डायस्पोरा वाङ्मय पुरस्कार’ प्राप्त ‘वासदेखि पुनर्वाससम्म’ कृतिका लेखक डा. लक्ष्मीनारायण ढकाललाई ११ सय अमेरिकी डलर नगद राशिको पुरस्कार प्रदान गरिएको छ ।

त्यस्तै, कार्यक्रममा ‘अनेसास दिल–लीला बस्नेत सर्वोत्कृष्ट डायस्पोरा पुस्तक पुरस्कार प्राप्त कृति ‘लेखककी छोरी’ कथासङ्ग्रहका लागि भुटानमा जन्मेर हाल अमेरिकाको पेन्सिलभेनिया बसोबास गर्दै आएका जेएन दाहाललाई ११ सय अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिएको छ भने अनेसास श्याम–इन्दिरा कार्की सर्वोत्कृष्ट निबन्ध पुरस्कार प्राप्त कृति ‘पत्थरको देवता’ निबन्धसङ्ग्रहका लेखक विद्याप्रसाद घिमिरेलाई एक हजार अमेरिकी डलर नगद पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

त्यस्तै, ‘अनेसास पदम विश्वकर्मा सर्वोत्कृष्ट कथा पुरस्कार’ प्राप्त कृति ‘मरीचिका’का लेखक महेश थापालाई एक हजार अमेरिकी डलर राशिका साथमा प्रमाणपत्र हस्तान्तर गरिएको छ भने ‘अनेसास प्रा. डिल्लीराम तिम्सिना सर्वोत्कृष्ट उपन्यास पुरस्कार २०२१’ बाट पुरस्कृत कृति ‘निर्वेद’का लेखक शैलेन्द्र अधिकारीलाई एक हजार अमेरिकी डलरका साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।

यस्तै,‘अनेसास सीता शर्मा सर्वोत्कृष्ट समालोचना-संस्कृति पुरस्कार २०२१’ बाट पुरस्कृत साँस्कृतिक खोजकर्ताद्वय डा. गोविन्द आचार्य तथा अशोक थारुलाई संयुक्त रुपमा अमेरिकी डलर एक हजार नगदका साथमा प्रमाणपत्र हस्तान्तरण गरिएको छ भने अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट गीत-गजल-हाइकु-मुक्तक पुरस्कारबाट पुरस्कृत टीका आत्रेय पौडेललाई ५ सय अमेरिकी डलरका साथमा प्रमाणपत्र वितरण गरिएको छ ।

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार अनेसासका ट्रस्टीहरुको सदस्यता शुल्कको बैङ्कब्याजबाट हरेक दुई वर्षमा प्रदान गरिन्छ । यस पुरस्कारको राशि १५ सय अमेरिकी डलर रहेकामा सन् २०१९ मा २ हजार डलर र यस वर्ष २ हजार एक सय डलर हुने गरी पुरस्कार समितिका अध्यक्ष प्रा.डा. गोपी उप्रेतीले थप रकम सौजन्य गरेका हुन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनको लगत्तै अनेसासले सन् २०२१ देखि प्रदान गर्ने गरी घोषणा गरेको माधव घिमिरे सर्वोत्कृष्ट काव्यपुरस्कारको राशिका प्रायोजक बिओटीका अध्यक्ष गीता खत्री तथा ट्रस्टी डा. चूडामणि खनाल हुन् ।

यसैगरी अनेसासका संस्थापक होमनाथ सुवेदीको सम्मानमा सन् २०२१ देखि सञ्चालन गर्न थालिएको अनेसास होमनाथ सुवेदी सर्वोत्कृष्ट डायस्पोरा वाङ्मय पुरस्कारको सौजन्यकर्ता अनेसास बोर्ड अफ ट्रस्टिजका सल्लाहकार रोहिणी शर्मा हुन् । अनेसास दिल–लीला बस्नेत सर्वोत्कृष्ट डायस्पोरा पुस्तक पुरस्कार सन् २०१९ देखि प्रदान गर्न थालिएको हो । यसको सौजन्यकर्ता अनेसासका पूर्व केन्द्रीय अध्यक्ष एवं ट्रस्टी जापान निवासी डा. कुमार बस्नेत हुन् । प्रवासमा रहेका नेपाली सर्जकलाई नेपाली साहित्यलेखनमा अभिप्रेरित गर्ने उद्देश्यले डा बस्नेतले आफ्ना पितामाताको स्मृतिमा यो पुरस्कारको सौजन्य गरेका हुन् ।

सर्वोत्कृष्ट उपन्यासका लागि प्रदान गरिने पुरस्कार राशीको सौजन्य बिओटीका पूर्व उपाध्यक्ष, पुरस्कार समितिका पूर्व अध्यक्ष एवं बिओटीका पूर्व प्रमुख सल्लाहकार सुमन तिम्सिनाले गरेका हुन् भने सर्वोत्कृष्ट कथाका लागि बिओटीका उपाध्यक्ष पदम विश्वकर्माले पुरस्कार राशीको सौजन्य गरेका हुन् ।

निबन्ध विधाका लागि प्रदान गरिने पुरस्कार राशी बिओटीका पूर्व अध्यक्ष एवं प्रमुख सल्लाहकार डा. श्याम कार्कीले प्रायोजन गरेका हुन् भने समालोचना, संस्कृतिविधाको सर्वोत्कृष्ट कृतिका लागि प्रदान गरिने पुरस्कारको राशी बिओटीका सल्लाहकार रोहिणी शर्माले प्रायोजन गरेका हुन् । गजल, मुक्तक, हाइकू र गीत विधाका सर्वोत्कृष्ट पुस्तकका लागि प्रदान गरिने अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट पुरस्कारको राशी बिओटीका उपाध्यक्ष पुरु सुवेदी र उनकी धर्मपत्नी कल्पना सुवेदीले सौजन्य गरेका हुन् ।

कार्यक्रममा डा. बेन्जु शर्मालाई ‘अनेसास कोशी पुरस्कार’ र हिरण्य कुमारी पाठकलाई १ लाख राशिको ‘भाjना भट्ट विशिष्ठ महिला साहित्य पुरस्कार’ समेत प्रदान गरिएको छ ।

बोर्ड अफ ट्रस्टी अध्यक्ष गीता खत्रीको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा पुरस्कृत स्रष्टाहरूले छोटो मन्तव्य राखेका थिए भने अतिथिहरूले नेपाली साहित्यको श्रीवृद्धिमा अनेसासले गर्दै आएका कामहरूको प्रशंसा गरेका थिए ।

मन्तव्यका क्रममा प्रमुख अतिथि रायन श्रेष्ठले पुरस्कारलाई निरन्तर रूपमा अघि बढाउन सुझाव दिँदै समयनुकूल राशि बढाउन सुझाव दिनुका साथै अनेसासमा महिला सहभागिता र नेत्रित्त्व कलाको खुलेर प्रशंसा गरेका थिए ।

कार्यक्रममा अनेसासका केन्द्रीय समितिका प्रकाश पौडेल ‘माइला’ले धन्यवाद मन्तव्य राख्दै अनेसास केन्द्रले च्याप्टर, ट्रस्टी र पुरस्कार समितिसँग समन्वय गरेर काम गरिरहेको र आगामी दिनमा अझै इमान्दारपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यस्तै, पुरस्कार समितिका अध्यक्ष प्रा.डा. गोपी उप्रेतीले पुरस्कारको इतिहासबारे संक्षिप्तमा जानकारी दिएका थिए ।

डा. रेणुका सोलुले सञ्चालन गरेको उक्त कार्यक्रममा साहित्यानुरागीहरूको बाक्लो उपस्थिति रहेको थियो ।