आज विश्वमा देखापरेको आपराधिक गतिविधि दिनानुदिन अतिक्रान्त बन्दै गएको छ । मानिसले आफ्नो स्वार्थका लागि अपराधलाई माध्यम बनाउन थालेका छन् । यस्तो असामाजिक क्रियाकलापबाट समाजलाई खबरदारी गर्न तथा समाजमा जनचेतना जगाउन र सुधारका विकल्पहरू पहिल्याउन कवितालाई माध्यम बनाउने उद्देश्यका साथ म्याडिसन कोठे गोष्ठी, अमेरिका र अनेसासको सहकार्यमा अपराध र सुधार विषयक अन्तर्राष्ट्रिय कविता संग्रह प्रकाशित गर्ने योजना बनाइएको छ ।

उक्त कार्य सम्पन्न गराउन तथा सङ्ग्रह प्रकाशित गर्न ‘अपराध र सुधार विषयक अन्तर्राष्ट्रिय कविता संग्रह प्रकाशन समिति’ गठन गरिएको छ ।

कविलाई सन्देशको संवाहक मानिन्छ, जसको सिर्जनाले समाजलाई सचेत मात्र गराउँदैन, वास्तविकता पहिल्याउन प्रेरणा पनि दिने गर्दछ । यही उद्देश्यका साथ यो कविता संग्रह प्रकाशित गर्ने समिति बनाइएको हो ।

आह्वान गरेर प्राप्त भएका कविताहरूलाई मूल्याङ्कन समितिका माध्यमबाट छनोट गरी संग्रहका रुपमा प्रकाशित गरेर समाजलाई सचेत गराउने र असामाजिक तत्त्वलाई खबरदारी गर्ने उद्देश्यका साथ कविता आह्वान गरिएको छ । यसका लागि सर्जकले आफ्ना कविता विश्वका विभिन्न शहरहरूमा स्थापित अनेसासका च्याप्टरहरूमा वा सोझै समितिको ईमेल aparadhsudhar21@gmail.com मा २०२१ अक्टुबर २० सम्ममा बुझाउनु पर्ने समितिले जनाएको छ ।

‘अपराध र सुधार विषयक अन्तर्राष्ट्रिय कविता संग्रह प्रकाशन समिति’का संयोजक क्यानडाका डा. गोबिन्दसिंह रावत हुनुहुन्छ । त्यस्तै उप–संयोजक मेडिसन, अमेरिकाका एकबहादुर क्षत्री रहनु भएको छ ।

सदस्यहरूमा गोबर्द्धन पूजा, सर्वज्ञ वाग्ले, महेश्वर पन्त, निजानन्द मल्ल, सन्ध्या पहाडी, रञ्जना निरौला र दिनार श्रेष्ठ हुनुहुन्छ ।