पोखरामा पर्या लेखक विजय हितानको कृति ‘ब्लु प्लानेट’ माथि परिचर्चा गरिएको छ ।

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालकोआयोजनामा पोखरा थियटरमा हितानको कृतिमाथि विमर्श गरिएको हो । ‘ब्लु प्लानेट’माथि प्राध्यापक कल्याण पन्तले कार्यपत्र प्रस्तुतगरेका थिए । यो हितानको वातावरणीय मुद्दामा केन्द्रित दोस्रो कथा कृति हो । यी बाहेक उनका अन्य विषय वस्तुमा ८ कृतिहरू प्रकाशित भइसकेका छन् । १५ कथा संग्रहित ‘ब्लु प्लानेट’माथि बोल्दै पन्तले वातावरण असन्तुलित हुँदै गएकोमा चिन्ता व्यक्त गरे ।

‘समाज, गाउँ देश, विदेशमा डुल्दा वातावरण विचलनका कुराहरु हुन्छन् । बाहिर नक्कली रुप देखिन्छ । तर, वातावरण भित्रभित्रै दोहनभइरहेको छ,’ उनले भने । लेखकको वातारणसम्बन्धी गहिरो बुझाइरहेको भन्दै उनले खुसी व्यक्त गरे । उनको कथा संग्रहमा पृथ्वीको पर्यावरणमा असन्तुलन देखापरेको र वातावरण दोहन हुँदै गएकोमा चिन्ता प्रकट भएको उनले बताए ।

लेखनमा केही ठाउँमा चुके पनि समग्रमा राम्रो र पढ्नै पर्ने कृति आएको उनको भनाइ थियो । लेखकीय अनुभूति सुनाउँदै लेखक हितानले पर्या लेखन अरुले पनि लेख्नुपर्ने बताए । उनले पर्यावरण साहित्यको महत्त्व र आवश्यकतामाथि प्रकाश पार्दै यसलाई जोगाउन सबै जना लाग्नुपर्ने बताए । ‘साहित्यिक संस्थाले अब भानु जयन्तिका साथै भालु जयन्ति पनि मनाउनपर्छ । हामीले मोति जयन्ति मात्रै होइन, माटो जयन्ती पनि मनाउन पर्छ । हामीले पर्या केन्द्रित भएर लेख्यौं भने प्रकृति संरक्षणमा मद्दत पुग्छ,’ उनले भने ।

कार्यक्रमको संयोजन पिएन क्याम्पसका लेक्चरर तथा अधिवक्ता दीपक पराजुलीले गरेका थिए । यसको सञ्चालन जरोटुप्पो कामहासचिव मदन भन्डारीले गरेका थिए भने सभापतित्व यसै संस्थाका अध्यक्ष नारायणप्रसाद अधिकारीले गरेका थिए । वरिष्ठ साहित्यकार सरूभक्तको प्रमुख आतिथ्यमा सम्पन्न यस परिचर्चा कार्यक्रममा पोखरेली साहित्य अनुरागीको बाक्लो साथै उत्साहवर्धक उपस्थिति थियो ।

स्मरण रहोस् एक हप्ताअघि वुटवलमा पनि ‘ब्लु प्लानेट’ उपर परिचर्चा गरिएको थियो । जसको आयोजना माधव गौतम र गिरी श्रीषको संयोजकत्वमा पाठक मञ्चद्वारा गरिएको थियो । हितानले वुटवलकै वाणिज्य क्याम्पसमा पनि लेक्चरर माधव पौड्याल र माया आचार्यको संयोजनमा स्नाकोत्तर पढदै गरेका विद्यार्थीबीच पर्यालेखनबारे अन्तरकृया गरेका थिए ।

इको राइटिङका अभियन्ता हितान पूर्व ब्रिटिस गोर्खा सैनिक हुन् । ग्रिनविच युनिभर्सिटीबाट वातावरण विज्ञानमा स्नाकोत्तरस्तरको अध्ययन गरेका हितान हाल बेलायतको इन्भायरोमेन्ट एजेन्सीमा वातावरण व्यवस्थापन विभागमा कार्यरत छन् ।