वि.सं २०७९ को ‘ग‌ैरआवासीय नेपाली सङ्घ’ पुरस्कार विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’लाई प्रदान गरिने भएकाे छ । ‘ग‌ैरआवासीय नेपाली सङ्घ’को ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ समितिले ग‌ैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई प्रदान गर्ने यो पुरस्कार हितानको उपन्यासलाई प्रदान गर्ने निर्णय गरेकाे हाे ।

वि.सं २०७७ सालदेखि प्रत्येक वर्ष २ लाख नगदराशि र सम्मानपत्रसहित ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने गरेको छ । वि.सं २०७९ को पुरस्कारका लागि सो वर्षभरिमा प्रकाशित विविध विधाका नेपाली वाङ्मयका कृतिहरूमध्ये बेलायतमा बसोबास गर्नु हुने साहित्यकार विजय हितानद्वारा लिखित उपन्यास ‘लाहुरे दाइको रेलिमाई’ लाई प्रदान गर्ने निर्णय गरेको हो ।

पहिलोपटक २०७७ सालमा यो पुरस्कार हरि अधिकारीको ‘सङ्कलित गद्य रचना’लाई प्रदान गरिएको थियो । त्यसैगरी, वर्ष २०७८ मा चेतनाथ आचार्यको उपन्यास “रुइबा”लाई पुरस्कृत गरिएको थियो ।

गीत सङ्गीतका मार्फत् नेपाली जातिको जागरणमा जीवनपर्यन्त लाग्नु भएका मास्टर मित्रसेन थापाको जीवनकथामा आधारित आख्यान “लाहुरेको रेलिमाई”ले गायक थापाको दृष्टिविन्दूबाट प्रथम विश्वयुद्धको विदारक चित्रण प्रस्तुत गरेको छ । त्यससँगै, उहाँको सङ्घर्षपूर्ण जीवन र उहाँ बाँचेको समाजका अनेक पाटाहरूलाई पनि यस उपन्यासले प्रभावशाली र प्रमाणिकरूपमा उद्घाटित गरेको छ।

पुरस्कृत कृति ‘लाहुरेको रेलिमाई’का लेखक विजय हितानलाई गैरआवासीय नेपाली सङ्घले एक विशेष समारोहबीच नगद पुरस्कार र सम्मानपत्रसहित यो पुरस्कार प्रदान गर्नेछ ।