
आज युग कविको उपाधि पाएका सिद्धिचरण श्रेष्ठको १ सय ९ औँ जन्मजयन्ती । एउटा मात्र कविता लोकप्रिय हुँदा पनि मानिसको जीवनमा कति फरक पार्छ भन्ने उदाहरण हुन्, श्रेष्ठ । उनको ‘मेरो प्यारो ओखलढुंगा’ नेपाली साहित्यमा यस्तो विम्ब बन्यो, जसले नेपालको पहाडी भू–बनोट सटिक चित्रण गरेको छ । र, आफ्नो जन्मस्थानलाई सम्झने नयाँ शैली पनि विकास गर्यो ।
नेपाली तथा नेपालभाषा दुवैमा कलम चलाउने उनी नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधाराका प्रवर्तक मानिन्छन् ।
नेपालमा पहिलो पटक सामाजिक विषयमा ‘सुमती’ नामको उपन्यास लेखिएको थियो । यो उपन्यास लेख्ने व्यक्ति सिद्धिचरणका पिता विष्णुचरण श्रेष्ठ थिए । उपन्यासकार बुबाको पदचापमा हिँडेरै छोरा सिद्धिचरणले युगकविको उपाधि पाए ।

सायद प्रथम उपन्यासकार बुबाका छोरा भएका कारण हुन सक्छ, सिद्धिचरणमा पनि प्रथम हुने लालसा थियो । यही कारण उनले नेपालको प्रथम दैनिक पत्रिका ‘आवाज’को पहिलो सम्पादकका रुपमा आफ्नो कौशल प्रदान गरेका थिए ।
उनको नेतृत्वमा तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानले पहिलो पटक ‘कविता महोत्सव’को आयोजना सुरु गरेको थियो । यो कविता महोत्सव आज पनि जारी छ ।
नेपालको प्रथम राष्ट्रिय गान ‘हिमगिरि मण्डित सुगन्ध शोभित जय जय आमा नेपाल !’ (२००५) का रचयिता पनि सिद्धिचरण नै हुन् आफ्नो समयमा उनको लोकप्रियताका कारणले नै उनको नाममा दर्जनौँ संस्थाहरु खुलेका छन् भने तिनले अनेकन् गतिविधिहरू गरिरहेका छन् ।
ओखलढुंगामा उनको नाममा नगरपालिका छ । जसलाई सिद्धिचरण नगरपालिका नामकरण गरिएको छ । त्यसैगरी उनको नाममा सिद्धिचरण राजमार्ग (कटारीदेखि ओखलढुङ्गा) पनि खुलेको छ । त्यसैगरी काठमाडौँको मुख्य मार्गको नाम नै सिद्धिचरण मार्ग राखिएको छ । नेपाल सरकारले सिद्धिचरणको नाममा हुलाक टिकट समेत प्रकाशन गरेको छ ।
लेखेर सबैभन्दा लामो समय जेल सजाय तोकिएका व्यक्ति पनि सिद्धिचरण नै हुन् । देशमा शहिद काण्डका बेला ( १९९७ ) का घटनामा आधारित भएको लेखिएको ‘क्रान्तिबिना शान्ति हुँदैन’ भन्ने उद्गार लेखेबापत उनलाई अठार वर्षको जेल सजाय तोकिएको थियो । त्यसअघि १९९५ मा पनि उनलाई जेल हालिएको थियो । २००२ सालसम्म जेलमा रहँदा उनले दर्जनौँ कृति लेखेका थिए तर लेखिएका अधिकांश कृतिलाई राणा सरकारले नष्ट गरेको थियो ।
८० वर्षे सक्रिय जीवन पाएका श्रेष्ठका नेपाली र नेपाल भाषामा २५ वटा कृति प्रकाशित छन् । कोरोना कहरका बीच जारी बन्दाबन्दीका बेला पनि उनलाई देशभरिका श्रष्टाले सम्झँदै छन् । ओखलढुंगामा युककविको सम्झनामा विशेष कार्यक्रम भइरहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३ माघ २०८२, शनिबार 










