साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कोरोनाले ल्याएको किताब संकट

Chovar Blues Mobile Size

सन् २०२० लाग्नु केही अघि नै अमेरिकाका पुस्तक प्रकाशकहरूले बसन्त सुरू हुने बित्तिकै किताबको लस्करै लगाउने तयारी थालेका थिए । अर्थात् डिसेम्बर अघि नै अप्रिल महिनाका लागि सयौँ पुस्तक बजारमा ल्याउने तयारीमा प्रकाशकहरू थिए तर कोरोना भाइरसका कारण प्रकाशकमाथि बज्रपात नै खसेको छ ।

कोभिड १९ का कारण त्यहाँ नयाँ पुस्तक प्रकाशन स्थगन भएको छ भने रिक्त स्थान पूरा गर्न पुराना पुस्तकहरूकै रिप्रिन्ट गर्न थालिएको छ । पुराना पुस्तकको पुनः प्रकाशन भने वर्षायाम र त्यसपछिसम्म पनि तन्कने सम्भावना रहेको प्रकाशकहरूले जनाएका छन् ।

यस पटकको बसन्त याममा केही प्रख्यात लेखकका पुस्तक बजारमा आउने अपेक्षा गरिएको थियो । खासगरी बालबालिकाकी प्रिय लेखिका जेफ किन्ने, ग्राहम स्विफ्टको उपन्यास यही बेला निकाल्ने तयारी थालिएको थियो । यी दुवै बेस्ट सेलर लेखक मानिन्छन् ।

यसै गरी नेटफ्लिक्स कम्पनीका प्रमुख कार्यकारी रिड हास्टिङ, टेलिभिजनकर्मी डिसस मेरो तथा क्यालिफोर्नियाकी राजनीतिकर्मी एरिक स्वालवेलको गैरआख्यान पुस्तक पनि बजारमा ल्याउने तयारी गरिएको थियो । यी सबै पुस्तक बेस्ट सेलरमा पर्ने अपेक्षा प्रकाशकहरूको थियो तर कोरोना कहरका कारण सर्वत्र त्रास र पुस्तक पसलहरू बन्द भएपछि पुस्तक ननिकाल्नु नै बुद्धिमानी भएको निष्कर्षमा प्रकाशकहरू पुगेका हुन् ।

कन्डिसनल सिटिजन नामक पुस्तक निकाल्न ठीक परेकी लैला ललामीले भनिन्, ‘यतिबेला मान्छेलाई आफ्नो स्वास्थ्य र हातमुख जोर्ने चिन्ताले सताएका बेला किताब स्थगन नै बुद्धिमतापूर्ण निर्णय हुनेछ ।’ कतिपय प्रकाशकले त केही महिना होइन, पूरै एक वर्षका लागि नयाँ पुस्तक प्रकाशनको मिति धकेलेका छन् । आपराधिक गतिविधिमाथि चार्लोटी बिस्मथले लेखेको ‘ब्याड मेडिसिन’ निकाल्न ठिक परेको प्रकाशक एट्रियाले उनको पुस्तक जनवरीमा छाप्ने निधो गरेको छ ।

केही प्रकाशक त आउँदा दिन पुस्तकका लागि झनै कष्टदायक हुने बताइरहेका छन् । एक प्रकाशक भन्छन्, ‘अबका दिन मैले त्यति राम्रो समय देखिरहेको छैन । पहिलो त कोरोना संकट लम्बिदै जाँदा कयौँ गोदामका पैसा तिर्न कम्पनीलाई धौधौ हुनेछ । त्यसमाथि पुस्तक छाप्न कागजको अभाव चुलिने सम्भावना पनि उत्तिकै छ । त्यसमाथि प्रिन्टिङ प्रेसले पनि कामदार कटौती गर्न थाल्नेछन् । यस्तो अवस्थामा प्रकाशन संस्थाको हालत के होला ?’

sagarmani mobile size

इक्को नामक प्रकाशन संस्थाका ड्यानियल हाल्पर्न चाहिँ लेखकहरूलाई विचरा देखिरहेका छन् । भन्छन्, ‘त्यसै पनि लेखकहरूले वर्षौं मिहिनेत गरेर बल्लतल्ल एउटा पुस्तक लेखेका हुन्छन्, त्यस्तो अवस्थामा मुखैमा तपाईंका अघिल्तिर प्लेगजस्तो महामारी आइदिन्छ । भन्नुस् त, तिनलाई कस्तो पीडा हुँदो हो !’

प्रकाशकहरुले पुस्तक बजारमा ल्याउन ढिला गर्नुको मूल कारण चाहिँ भविष्यमा नयाँ शीर्षकका पुस्तकको बढी बिक्री होला कि भन्ने अपेक्षा हो । तर यतिबेला पुस्तक बिक्री नै नभएपछि नयाँ शीर्षकका नयाँ पुस्तक छाप्न प्रकाशकहरूलाई अझ गाह्रो पर्ने केहीको धारणा छ । अब्राहम बुक्सले पछिल्लो समय उसको बेस्ट सेलर सिरिज विम्पी किडको प्रचार रद्द गरेको छ । कम्पनीले अप्रिलदेखि अगस्तसम्म पूर्वनियोजित कार्यक्रम स्थगन गरेका हुन् । यो पुस्तक एकै पटक ३० लाख छापिदैछ । अहिलेलाई प्रकाशन नै रद्द गरिएको छ ।

अब्राहम्स कम्पनीका प्रमुख कार्यकारी माइकल ज्याकब्सले भने, ‘यस्तो बिजनेस गर्ने विष्फोटक किताबको प्रकाशन समय नै स्थगन गर्नु भनेको युद्धको अवस्थाजस्तो हो कि होइन, तपाईं आफैँ भन्नुस् !’ उनले थपे, ‘अगस्तदेखि समय सम्हालिने हो कि भन्दै दिन गन्नु बाहेक हामीसँग अर्को कुनै उपाय छैन ।’

त्यसो त अवस्था त्यति गएगुज्रेको पनि छैन । बन्दाबन्दीको अवस्थामा घरमा पुस्तक पढ्ने उपयुक्त अवस्था यो भन्दा गतिलो कहिल्यै थिएन । यस्तो अवस्थामा बालबालिकाको पुस्तक बिक्री यो बेला ७० प्रतिशतले चुलिएको एउटा अध्ययनले देखाएको छ । अन्य पुस्तकको बिक्री भने १० प्रतिशतले घटेको छ तर आर्थिक गतिविधि ठप्प हुने अवस्था लम्बिदै जाँदा सबैभन्दा पहिलो मार पुस्तक प्रकाशनमा हुने र चरम आर्थिक संकटमा पुग्ने केहीको आँकलन छ ।

न्यु योर्क शहर यतिबेला कोरोना भाइरसको चपेटामा परेको छ । यही शहरमा संसारकै सबैभन्दा ठूला प्रकाशक र लिटररी एजेन्सीका कार्यालय छन् । न्यु योर्कको पुस्तक प्रदर्शन हुने, पुस्तकबारे छलफल चलाइने संसारकै ठूलो स्थल ज्याकब के जेभिट्स कन्भेन्सन सेन्टर यतिबेला कोरोना अस्पतालमा परिणत भएको छ । जसका कारण पुस्तक प्रदर्शनी आउँदो जुलाई महिनासम्मका लागि स्थगन गरिएको छ । प्रदर्शनी त सरेको छ तर त्यसमा सहभागी हुने ठूला प्रकाशकहरू सिमन एन्ड सुस्टर, पेइन्गुइन र्यान्डम हाउस, हार्पर कोलिन्स, हिटाची र म्याकमिलानहरूले सो प्रदशनीबाट हात झिकेका छन् ।

यति मात्र होइन, कोरोना संकटका कारण अस्थायी रूपले बन्द हुने कतिपय पुस्तक पसलहरूको बन्द स्थायी प्रकृतिको नै हुने हो कि भन्ने डर पनि उत्तिकै छ । खासगरी देशकै चर्चित पुस्तक पसलहरू पोर्टल्यान्डको पोवेल्स अनि न्यु योर्कको म्याकल्ली ज्याक्सन र स्ट्रान्डजस्ता पुस्तक पसल अनि डेनभरको टाटर्ड कभर नामक पुस्तक पसलहरूले त्यहाँका कर्मचारीहरूलाई तलबबिनाको बिदा दिइसकेको छ । यी सबै पुस्तक पसलहरू त्यहाँको समुदायको सहयोगमा चलिरहेका थिए ।

अमेरिकाभरि ठूलो चेन बुक स्टोरको रूपमा नाम कमाएको बर्न्स एन्ड नोभल यस महामारीपछि बन्द छ । यो कम्पनी पहिलेदेखि नै आर्थिक संकटमा थियो । कम्पनीका प्रमुख कार्यकारी जेम्स डुअन्ट भन्छन्, ‘कोरोनाका कारण प्रकाशन उद्योग कोमामा पुगेको छ । प्रकाशनको जुन पात्रो हुन्थ्यो, त्यो ध्वस्त भएको छ । केही सीमित किताबले मात्र प्रकाशन हुने सुअवर पाउने देख्छु म त ।’

केही साना प्रकाशकहरुले त आफ्ना कर्मचारीहरूलाई बिदा दिन थालिसकेका छन् । शैक्षिक सामग्री र एकेडेमिक पुस्तकको प्रकाशक रम्यान एन्ड लिटलफिल्ड, स्काइहर्सले आफ्ना ३० प्रतिशत कर्मचारीलाई बिदा दिइसकेको छ । अबको दोस्रो चरणमा जब किताबका वितरकहरूले कर्मचारी कटौती थाल्छन्, त्यसपछि प्रकाशन उद्योगको कोमा लम्बिने निश्चित रहेको केहीको धारणा छ । स्कोलास्टिक कम्पनीले त कतिपय गोदाम बन्द गरिसकेको छ किनभने उसको प्रमुख बिक्री थलो नै स्कुलहरू र कतिपय पुस्तक प्रदर्शनी हो । ती गतिविधि ठप्प भएपछि उसले गोदाम लिइरहनै परेन ।

यस्तो बेलामा अनलाइन पुस्तक बिक्री होला र खर्च धान्न सकिएला भन्ने आशा गर्नेहरू पनि छन् । गएको साता मात्र अनलाइनमा ३ लाख ८० हजार डलरको बिक्री भएको र त्यो गएको महिनाको तुलनामा राम्रो देखिएको बुकसप अनलाइनका प्रमुख कार्यकारी एन्डी हन्टरले बताइन् । उनको वेबसाइटबाट कम्तीमा पनि ३५० भन्दा बढी प्रकाशकले किताब बेच्ने गर्छन् । यस कारण पनि पसल बन्द गरी अनलाइनतिर लाग्नुपर्ने धेरैले महसुस गर्न थालेका छन् ।

तर यस्तो समय लम्बिए र कतिपय कार्यक्रम लामो समयसम्म रोकिए, त्यसले पठन संस्कृतिमै असर पार्नसक्ने एन्डीको धारणा छ । ‘पठन संस्कृतिलाई यस्तो बन्दाबन्दीले ठूलो असर पार्छ र त्यो दीर्घकालीन किसिमको हुन्छ र यसमा मलाई ठूलो चिन्ता लागिरहेको छ । यसका लागि लेखक र पाठक दुवै पक्ष गम्भीर हुन आवश्यक देख्छु किनभने पुस्तक प्रदर्शनी, छलफल कार्यक्रम र बुक रिडिङ इभेन्टजस्ता कुराले किताबको आयाम फराकिलो बनाउँछ र बन्दाबन्दीले ती सबैलाई खुम्च्याइदिन्छ ।’

न्युयोर्क टाइम्समा २०२० मार्च ३० मा प्रकाशित समाचारको अनुवाद

प्रतिक्रिया
Loading...