अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले संस्कृतिविद् सत्यमोहन जोशीका नाममा अन्तर्राष्ट्रिय प्रकृतिको पुरस्कार स्थापना गरेको छ । संस्थाका अध्यक्ष प्रकाश पौडेल ‘माइला’को निजी प्रायोजनमा संस्थाले ‘अनेसास शताब्दी पुरुष सत्यमोहन जाशी पुरस्कार’ स्थापना गरेको हो । पुरस्कार नेपालबाहिर तीन वर्षभन्दा बढी बसेर पनि नेपाली भाषा, साहित्य एवं संस्कृतिका विभिन्न क्षेत्रमा काम गरी विशिष्ट योगदान गरेका व्यक्ति वा संस्थालाई प्रदान गरिनेछ ।
पुरस्कारको राशि १ हजार १ डलर रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यालयले प्रेस विज्ञप्ति जारी गरेर जनाएको हो । पुरस्कार हरेक दुई वर्षमा प्रदान गरिनेछ । पुरस्कारका छनोटका लागि अनेसास केन्द्रीय कार्यालयले तीन जना सम्बन्धित क्षेत्रका तीनजना विशिष्ट व्यक्तिहरुलाई पुरस्कारका लागि तीन व्यक्ति वा संस्था छनोट गर्ने अग्राधिकार प्रदान गर्नेछ । तीमध्ये एकलाई संस्थाले पुरस्कार वितरण गर्ने जनाइएको छ ।
‘पछिल्लो समय स्वदेश विदेश सबैतिर नेपाली भाषा र साहित्यमा विभिन्न किसिमका पुरस्कार स्थापना भएका छन् । जसले नेपाली भाष र साहित्यका लागि निकै फराकिलो आयाम थपेका छन्,’ पुरस्कारका प्रायोजक प्रकाश पौडेल ‘माइला’ भन्छन्, ‘तर यस्तो पुरस्कार आमा–बुवा वा परिवारका विशिष्ट सदस्यका नाममा मात्र भए । मलाई भने विशिष्ट व्यक्तित्वको नाममा पुरस्कार स्थापना गर्न मन लागेको हो ।’
संस्कृतिविद् सत्यमोहन जोशीका विषयमै पुरस्कार स्थापना गर्नुमा पनि पौडेलका आफ्नै तर्क छन् । औसत ७० वर्ष आयु भएका नेपालीहरुका बीचमा सत्यमोहन यस्ता स्रष्टा हुन्, जसले नेपाली भाषा, संस्कृति र साहित्य तीनवटै क्षेत्रमा काम गरेका छन् । तीनपटक मदन पुरस्कार पाउने एक्लो इतिहास बनाएका व्यक्ति पनि हुन् । सय वर्षको उमेरमा पनि स्वथ्य र सक्रिय जीवन बाँच्ने हौसला उनको जीवनबाट पाइन्छ ।
‘सबै किसिमले नेपाली भाषा, साहित्य र संस्कृतिका महत्त्वपूर्ण व्यक्तित्व भएका कारण पुरस्कारले सत्यमोहनकै बाटो पच्छ्याओस् भन्ने सोच हो,’ पौडेल भन्छन्, ‘सबैको सहयोग भयो भने यो सम्भव छ ।’
केही दिनअघि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोर्ड अफ ट्रस्टीसँग सम्झौता भएपछि शताब्दी पुरुष सत्यमोहन जोशी संस्कृति पुरस्कार अस्तित्वमा आएको हो । ट्रस्टीका तर्फबाट प्रा डा. गोपी उप्रेतीले हस्ताक्षर गरेका छन् भने दाताका तर्फबाट प्रकाश पौडेलले हस्ताक्षर गरेका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

