विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विराटनगरले “खुला कविता प्रतियोगिता–२०८३” का लागि कविता आह्वान गरेको छ । सहकारीले विगत केही वर्षदेखि हरेक महिनाको दोस्रो शनिबार नियमित रचना वाचन कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
आयोजकका अनुसार प्रतियोगिता २०८३ साल जेठ २३ गते सम्पन्न हुनेछ । प्रतियोगितामा प्रथम हुने कवितालाई नगद १० हजार रुपैयाँसहित कदरपत्र, द्वितीयलाई ७ हजार रुपैयाँसहित कदरपत्र र तृतीयलाई ५ हजार रुपैयाँसहित कदरपत्र प्रदान गरिने अध्यक्ष जीवन काफ्लेले जानकारी दिनुभएकाे छ ।
प्रतियोगिताका लागि पठाइने कविता अन्यत्र पुरस्कृत नभएको हुनुपर्नेछ । इच्छुक स्रष्टाहरूले आफ्नो कविता संस्थामा प्रत्यक्ष दर्ता गर्न सक्ने वा आधिकारिक इमेल nemcolmorang@gmail.com मार्फत पठाउन सक्नेछन् ।
कविता पाँच मिनेटभित्र वाचन गर्न सकिने हुनुपर्ने र यसको विषयवस्तु सामाजिक सद्भाव कायम राख्ने, राष्ट्रियतामा आँच नआउने तथा कुनै व्यक्ति, समूह वा संस्थाप्रति नकारात्मक भाव नराख्ने हुनुपर्ने आयोजकले जनाएको छ ।
कविता पठाउने अन्तिम म्याद २०८३ साल जेठ १४ गते अपरान्ह ५:०० बजेसम्म तोकिएको छ । सहकारीका सचिव ओमराज सुवेदीका अनुसार प्राप्त कविताहरूलाई कोडिङ गरी निर्णायक मण्डलसमक्ष मूल्याङ्कनका लागि पेश गरिनेछ । उत्कृष्ट १५ भित्र परेका कविताहरूलाई मात्र प्रतियोगितामा सहभागी गराइनेछ र वाचनका लागि स्रष्टा स्वयं उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 




