सिक्किमको गेलिङस्थित गुरू ज्ञानदिलधाममा तीनदिने राष्ट्रिय जोसमनी सन्त साहित्य सम्मेलन सम्पन्न भएको छ । मे १२ देखि १४, २०२६ सम्म आयोजित उक्त सम्मेलन गुरू ज्ञानदिलधाम, गेलिङ र अखिल भारतीय जोसमनी सनातन धर्म कल्याण संस्थानको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
सम्मेलनअन्तर्गत उद्घाटन सत्र, जोसमनी साधु सम्मेलन, साहित्य सङ्गोष्ठी, शिशु साहित्य सचेतना तथा समापन सत्रलगायत विविध कार्यक्रमहरू आयोजना गरिएको थियो । उद्घाटन समारोहमा धर्म विषयक मन्त्री सोनाम लामाको प्रमुख आतिथ्यता रहेको थियो भने डा. गोकुल सिन्हा, चन्द्रप्रकाश भट्टराई, डा. सुमन ढकाल र गुरू महावीरानन्द गिरी महाराजलाई अभिनन्दन गरिएको थियो ।
कार्यक्रमका क्रममा जनकलाल शर्माद्वारा लिखित जोसमनी सन्तपरम्परा र साहित्य (चौथो संस्करण) तथा श्रीराम चैतन्यको जोसमनी सन्त दर्शन पुस्तकको लोकार्पण गरिएको थियो । सम्मेलनको दोस्रो दिन सम्पन्न राष्ट्रिय सन्त साहित्य सङ्गोष्ठी मुख्य आकर्षणका रूपमा रहेको थियो । “जोसमनी सन्त साहित्य : साहित्यिक, दार्शनिक र सामाजिक आयाम” शीर्षकमा दुई सत्रमा विभाजित उक्त सङ्गोष्ठीमा ११ वटा कार्यपत्र प्रस्तुत गरिएका थिए । प्रा. नवीन पौड्याल, डा. पुष्प शर्मा, डा. राजकुमार छेत्री, डा. शिवकुमार नेपाललगायतका विद्वानहरूले जोसमनी परम्परा, दर्शन, नारी दृष्टि र इतिहाससम्बन्धी विभिन्न विषयमा प्रस्तुति दिनुभएकाे थियाे ।
तेस्रो दिनको समापन समारोहमा सिक्किम स्टेट बैंकका सल्लाहकार डि.बी. गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्याे । कार्यक्रममा जोसमनी परम्पराको संरक्षण, प्रवर्द्धन र संस्थागत विकासका लागि ‘गेलिङ घोषणा’ जारी गरिएको थियो, जसमा दर्शन, साधना, गुरु–शिष्य परम्परा, सामाजिक उत्तरदायित्व र विश्वव्यापी विस्तारसम्बन्धी १० बुँदे प्रतिबद्धता समेटिएको छ । सम्मेलनभर प्रभातफेरी, भजन सन्ध्या तथा सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिएका थिए । दार्जिलिङ, कालिम्पोङ, डुवर्स र सिक्किमका विभिन्न क्षेत्रबाट जोसमनी साधु, अनुयायी तथा साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
आयोजकका अनुसार यस सम्मेलनले जोसमनी परम्पराको पुनर्जागरण, अनुसन्धान र भावी पुस्तामा हस्तान्तरणका लागि महत्वपूर्ण आधार तयार गरेको छ । साथै, गुरू ज्ञानदिलधामलाई धार्मिक तथा सांस्कृतिक पर्यटनस्थलका रूपमा विकास गर्ने योजना पनि अघि बढाइएको छ ।