पोखरा । गण्डकी साहित्य सङ्गम, पोखराले २०८२ सालको ‘गोकुल वाङ्मय पुरस्कार’ साहित्यकार तथा चिन्तक मोहनविक्रम सिंह लाई प्रदान गर्ने निर्णय गरेको छ ।
संस्थाले समाजवादी यथार्थवाद, सामन्तवाद–साम्राज्यवाद विरोधी तथा प्रगतिशील र देशभक्त साहित्यिक धारामा साधना गर्ने स्रष्टा–द्रष्टाहरूलाई सम्मान गर्दै २०५२ सालदेखि राष्ट्रिय तहमा ‘गोकुल वाङ्मय पुरस्कार’ रु. ४० हजार र क्षेत्रीय तहमा ‘गण्डकी वाङ्मय पुरस्कार’ रु. २०, हजार प्रदान गर्दै आएको छ ।
यस वर्षको पुरस्कारका लागि सङ्गमका कार्यसमिति सदस्य शोभाकान्त गौडेलको संयोजकत्वमा गठित छनौट समितिले सल्लाहकार डा. कृष्णराज अधिकारी र प्रगतिशील साहित्यकार डा. यदुनन्दन उपाध्यायसहितको सिफारिसका आधारमा सिंहलाई सर्वसम्मत रूपमा छनोट गरेको हो ।
करिब छ दशकदेखि प्रगतिवादी साहित्यमा निरन्तर सक्रिय रहेका सिंहलाई उक्त पुरस्कार ९७औँ गोकुल जयन्तीको अवसर पारेर यही जेठ ९ गते पोखरामा आयोजित विशेष समारोहबीच प्रदान गरिने जनाइएको छ ।
वि.सं. १९९२ सालमा प्युठानको ओखरबोटमा जन्मिएका सिंहका ‘प्युठानको किसान समस्या र सङ्घर्ष’, ‘इन्क्लाव जिन्दावाद’, ‘युग बोल्छ’, ‘विश्व कम्युनिस्ट आन्दोलनको सङ्क्षिप्त इतिहास’, ‘गङ्गा–काबेरी एक्सप्रेस’, ‘झिमरुक नदी र चिबे चराको कथा’, ‘आदि विद्रोह’, ‘बाह्र मई’, ‘महिला मुक्तिको महान गाथा’ तथा हालै प्रकाशित उपन्यास ‘कामरेड जलजला’ लगायत कृतिहरू चर्चित रहेका छ ।
यसअघि उक्त पुरस्कारबाट केवलपुरे किसान, खगेन्द्र सङ्ग्रौला, रमेश विकल, मोदनाथ प्रश्रित, जीवन शर्मा, डा. ऋषिराज बराल र ईश्वरचन्द्र ज्ञवालीलगायतका स्रष्टाहरू सम्मानित भइसक्नुभएकाे छन् ।
संस्थाका सचिव नारायण मरासिनीका अनुसार सिंहलाई प्रदान गरिने यस पुरस्कारले नेपाली प्रगतिशील साहित्य क्षेत्रमा थप ऊर्जा र प्रेरणा दिने विश्वास गरिएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 




