रूपन्देहीको ‘तिलोत्तमा साहित्य सङ्गम’ को २०औँ शृङ्खला सम्पन्न भएको छ । तिलोत्तमा–१, ड्राइभर टोलस्थित सहिद गङ्मालाल पुस्तकालयमा आयोजित कार्यक्रममा साहित्यिक वातावरण पुनः एकपटक सिर्जनशीलता र काव्यमय अभिव्यक्तिले भरिएको थियो ।

तिलोत्तमा साहित्य, कला तथा सङ्गीत प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा काव्य वाचन, साहित्यिक विमर्श तथा रचनामाथिको समीक्षा प्रस्तुत गरिएको थियो । कार्यक्रममा साहित्यकार डा. मुरारी पराजुलीको अध्यक्षता रहेको थियो ।

अध्यक्षीय मन्तव्यमा डा. पराजुलीले साहित्यलाई “यथार्थमा आधारित कलात्मक अभिव्यक्ति” का रूपमा व्याख्या गर्दै समाजलाई सही दिशा दिन सचेतनात्मक सिर्जनाको आवश्यकता रहेको उल्लेख गर्नुभयो । समीक्षक रमेश समर्थनले समीक्षा प्रक्रियाले सर्जकलाई थप निखार्ने बताउँदै निरन्तर अभ्यास र विमर्शबाटै शब्द सशक्त बन्ने धारणा राख्नुभयो ।

कार्यक्रममा ढालानन्द चालिसे, डि.आर. न्यौपाने, दिवाकर पन्थी, लक्ष्मण ज्ञवाली, श्रीराम नेपाली, दीप मिलन, रमेश समर्थन, उद्धव देवकोटालगायत करिब एक दर्जन स्रष्टाहरूले कविता, गजल तथा विविध रचना वाचन गर्नुभएकाे थियाे ।

अग्रज साहित्यकार गुरुदत्त ज्ञवाली तथा गङ्गाराम आचार्यको उपस्थिति रहेको कार्यक्रममा सञ्चालन कवि उद्धव देवकोटाले गर्नुभएको थियो । उहाँले ‘तिलोत्तमा साहित्य सङ्गम’ प्रत्येक महिनाको अन्तिम शनिबार नियमित रूपमा आयोजना हुँदै आएको जानकारी दिनुभयो ।

सिर्जनशील बहस र अभिव्यक्तिको माध्यम बनेको यस कार्यक्रमले स्थानीय साहित्यिक गतिविधिलाई थप उचाइ दिएको सहभागीहरूको धारणा रहेको छ ।