भोजपुर बहुमुखी क्याम्पसमा उत्कृष्ट अंक ल्याउने चार जना विद्यार्थीलाई ‘वेदनिधि–धनकुमारी कोइराला छात्रवृत्ति कोष’बाट नगदसहित सम्मान गरिएको छ ।
पूर्वअर्थमन्त्री शंकर प्रसाद कोइरालाद्वारा आफ्ना बाबुआमाको नाममा स्थापना गरिएको अक्षयकोषमार्फत उक्त छात्रवृत्ति प्रदान गरिएको हो ।
क्याम्पस प्रमुख डा. पर्वत कुमार राईका अनुसार शिक्षा संकायबाट स्नेश राई र खुस्बु बयलकोटी तथा व्यवस्थापन संकायबाट यूमा म्हेन्दो तामाङ र रविना बुढाथोकीलाई जनही १५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
कोइरालाले क्याम्पसमा १० लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्नुभएकाे छ । उक्त कोषबाट प्रत्येक वर्ष वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति तथा सम्मान प्रदान गर्दै आइएको छ ।
कार्यक्रममा बोल्दै कोइरालाले आफ्नो जन्मभूमि तथा आफूले अध्ययन गरेको संस्थामा स्थापना गरिएको कोषले विद्यार्थीहरूलाई अध्ययनमा थप प्रेरणा र उत्साह मिल्ने विश्वास व्यक्त गर्नुभयो। साथै, उहाँले क्याम्पसमा यसअघि नै ई–लर्निङ सेन्टर स्थापना गरिसकेको जानकारी दिनुभयो ।
शिक्षा क्षेत्रमा गरिएको यस्तो पहलले प्रतिभाशाली विद्यार्थीलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 




