भक्तपुरमा आयोजित प्रदेश भाषा दिवस–२०८३ कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशभरका स्थानीय तहलाई नेपाल भाषा (नेवारी) र तामाङ भाषाको व्यवहारिक कार्यान्वयन गर्न निर्देशन दिनुभएकाे छ ।
बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयद्वारा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले १३ जिल्लाका १ सय १९ स्थानीय तहले सार्वजनिक स्थल तथा कार्यालयहरूमा सबैले देख्नेगरी नेपालीसँगै नेपाल भाषा र तामाङ भाषामा सूचना तथा साइनबोर्ड राख्नुपर्ने बताउनुभयो ।
उहाँले मातृभाषाको संरक्षणबाट मात्र इतिहास, संस्कृति र पहिचान जोगिने उल्लेख गर्दै आवश्यक परे प्रदेश सरकारले थप बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै काठमाडौं उपत्यकामा भाषा संग्रहालय स्थापना गरी नेवारी, तामाङलगायत सबै जातजातिका भाषा, कला र संस्कृतिको संरक्षण गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा भाषा, साहित्य र संस्कृतिमा योगदान पुर्याउनुभएकाे नेवारी भाषाका साहित्यकार डा. पुष्पराज राजकर्णिकार र तामाङ भाषा साहित्यका व्यक्तित्व राजेन्द्र थोकरलाई सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा प्रदेशका विभिन्न मन्त्री, स्थानीय जनप्रतिनिधि तथा भाषा–संस्कृति क्षेत्रका अगुवाहरूले बहुभाषिक पहिचानको संरक्षण र प्रवर्द्धन आवश्यक रहेकोमा जोड दिनुभएकाे थियाे ।
कार्यक्रमका सभापति एवं बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले सरकारी कामकाजी भाषा ऐन–२०७९ कार्यान्वयनको स्मरणमा प्रत्येक वर्ष वैशाख २४ गते भाषा दिवस मनाइँदै आएको जानकारी दिनुभयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 




