दाङ । युवा लेखक क्षितिज समर्पणको उपन्यास ‘तोरकीन’ माथि दाङमा साहित्यिक अन्तरक्रिया सम्पन्न भएको छ । अध्ययन मञ्च दाङ र सर्वोदय पुस्तकालय तथा वाचनालय दाङको संयुक्त आयोजनामा घोराहीमा ‘तोरकीन संवाद’ कार्यक्रम गरिएको हो ।

कार्यक्रममा समीक्षक हरिप्रसाद पौडेलले उपन्यासले मानवता, पर्यावरण र प्रेमको सशक्त संयोजन प्रस्तुत गरेको उल्लेख गर्नुभयाे । उहाँले माथिल्लो मुस्ताङको संस्कृति, परम्परा, भूगोल, जनजीवन तथा गुम्बा–दरबारको ऐतिहासिक पाटोलाई गहिरो रूपमा उत्खनन गरिएको बताउनुभयाे । “यो कृति पाठकलाई मानव सभ्यताको जरासम्म पुर्‍याउने प्रयास हो,” उहाँले भन्नुभयाे ।

साहित्यकार तथा उपप्राध्यापक टीकाराम उदासीले उपन्यासमा कवितात्मक स्वाद रहेको उल्लेख गर्दै कुनै विशेष भूगोल र समुदायलाई केन्द्रमा राखेर लेखिएको कृतिमा लेखक सफल रहेको धारणा राख्नुभयाे । उहाँका अनुसार यस्तो खोजमूलक लेखनका लागि दीर्घ मेहनत, समय र अनुसन्धान आवश्यक पर्छ ।

लेखक समर्पणले हिमाली सभ्यता र संस्कृतिलाई बुझ्नुपर्ने आवश्यकता औंल्याउँदै ‘तोरकीन’ केवल एउटा स्थानको कथा नभई समग्र नेपाली ग्रामीण सभ्यता र विकासक्रमको प्रतिनिधि कथा भएको बताउनुभयाे । उहाँले माथिल्लो मुस्ताङको चराङ गाउँलाई केन्द्रीय परिवेश बनाएर त्यहाँको जीवनशैली, परम्परा र मिथकलाई कथामा समेटिएको जानकारी दिनुभयाे ।

कार्यक्रममा उहाँले हिमाल केवल प्राकृतिक सौन्दर्य नभई जीवित सभ्यताको घर भएको उल्लेख गर्दै त्यस्ता मौलिक संस्कृतिहरू संरक्षण गर्नुपर्नेमा जोड दिनुभयाे ।

अध्ययन मञ्च दाङका अध्यक्ष सूर्य बिसीले सहजीकरण गरेको कार्यक्रममा सर्वोदय पुस्तकालयका कार्यवाहक अध्यक्ष चन्द्रराज पन्तको अध्यक्षता रहेको थियो । कार्यक्रममा साहित्यप्रेमी, पाठक तथा स्रष्टाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।