अर्जुन प्रधान

झापा । द लिटेरारी सोसाइटी अफ भुटान (LSB) को पाँचौँ वार्षिक साहित्यिक उत्सव शनिबार बेलडाँगीस्थित LSB पुस्तकालयमा  सम्पन्न भएको छ ।

भुटानी नेपालीभाषी समुदायको साहित्य, कला र पहिचान प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा संस्थाको वार्षिक पत्रिका ‘दियालो’को पाँचौँ अङ्क सार्वजनिक गरिएको छ । साथै रचना वाचन, कविता प्रस्तुति र सांस्कृतिक कार्यक्रमसमेत सम्पन्न भएको आयोजकले जनाएको छ ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि भुटानी नेता तथा लेखक बालाराम पौडेल, विशेष अतिथि साहित्यकार सुवित्रा वाङ्देल चेली र सभाध्यक्ष तिलक राईले संयुक्त रूपमा दीप प्रज्वलन गरी गर्नुभएको थियो ।

कार्यक्रममा साहित्य, कला, मानव अधिकार तथा समाजसेवाका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । उद्घाटन सत्रमा संस्थाका सचिव बीरेन्द्र मगरले स्वागत मन्तव्य राख्नुभएको थियो ।

उत्सवमा कविता, कथा, गजल र संस्मरण समेटिएको ‘दियालो’को पाँचौँ अङ्क सार्वजनिक गरिएको हो । यस अङ्कमा दिल भुटानी, अविलाल राई, थिरु घिमिरे ‘विकल्प’, पवित्र सुब्बा, सर्मिला गुरुङ, पुलमाया गुरुङ लगायतका रचनाकारका सिर्जनाहरू समावेश छन् ।
कार्यक्रममा रचना वाचन, कविता प्रस्तुति तथा सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।
सभाध्यक्ष तिलक राईले कार्यक्रम समापन गर्दै ‘दियालो’ प्रकाशनलाई भुटानी समुदायको साहित्यिक आवाज र पहिचान संरक्षणको माध्यमका रूपमा अघि बढाइने बताउनुभयो । उहाँले साहित्यिक गतिविधिले शिविरभित्र सिर्जनात्मक चेतना विस्तार भइरहेको उल्लेख गर्नुभयो ।
LSB पुस्तकालयलाई कार्यक्रमको स्थायी केन्द्रका रूपमा उपयोग गर्दै साहित्यिक गतिविधि निरन्तर अघि बढाइँदै आएको पनि आयोजकले जानकारी दिएको छ ।