स्याङ्जा । चौथो राष्ट्रिय लेखक दिवसको अवसरमा नेपाली लेखक संघ स्याङ्जाले ‘स्रष्टा : राज्यसत्ताको स्थायी प्रतिपक्ष’ विषयक अन्तरक्रिया तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम वालिङ नगरपालिका–६ मिर्दीस्थित नेचुरल भ्यु प्वाइन्ट रेष्टुरेन्टको सभाकक्षमा आयोजना गरिएको थियो ।

युवा स्रष्टा पारिश्वर न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताद्वय ध्रुवप्रसाद शर्मा पङ्गेनी र अनन्त अर्यालले स्रष्टाको भूमिकाबारे विचार प्रस्तुत गर्दै साहित्यकारलाई राज्यसत्ताको सचेत र आलोचनात्मक आवाजका रूपमा व्याख्या गर्नुभएकाे थियाे । कार्यक्रममा शैक्षिक व्यक्तित्व लक्ष्मीप्रसाद रेग्मीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे । त्यसैगरी स्याङ्जाका स्रष्टाहरू शोभाकान्त रेग्मी, वसन्त खनाल, शम्भु अर्याल, नारायणप्रसाद रेग्मी, सुलव खनाल र ढालबहादुर के.सी.ले आफ्ना सिर्जना वाचन गर्नुभएकाे थियाे ।

कार्यक्रमको सहजीकरण युवा स्रष्टा तथा साहित्यिक अभियन्ता मिलन समीरले गर्नुभएकाे थियाे ।
कार्यक्रमले साहित्य र स्रष्टाको सामाजिक तथा राजनीतिक भूमिकाबारे बहसलाई सशक्त बनाएको सहभागीहरूले बताउनुभएकाे छ ।