ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूतावासमा ऐतिहासिक नेपाली राजकुमारी भृकुटीको अर्धकदको प्रतिमा अनावरण गरिएको छ । उक्त अनावरण २०८३ वैशाख १२ (सन् २०२६ अप्रिल २५) मा सम्पन्न भएको हो ।
महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाको विशेष पहलमा जे. भी. फाउण्डेसन नेपालको सौजन्यमा प्राप्त उक्त प्रतिमा महावाणिज्यदूतावास परिसरमा स्थापना गरिएको हो । यसअघि प्रतिमा काठमाडौँमा फाउण्डेसनका अध्यक्ष जगदीश बैद्यले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलाई हस्तान्तरण गर्नुभएकाे थियाे ।
अनावरण कार्यक्रममा ल्हासामा बसोबास गर्ने नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो । सो अवसरमा प्रतिमा उपलब्ध गराउने तथा ल्हासासम्म पुर्याउन सहयोग गर्ने नेपाली दुःख निवारण कल्याण कोषलगायत विभिन्न संस्थाका प्रतिनिधिहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै महावाणिज्यदूत निरौलाले सातौँ शताब्दीमा तात्कालीन तिब्बती राजा स्रङ्चङ् गम्पोसँग विवाह गरेकी राजकुमारी भृकुटीले नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण योगदान दिएको उल्लेख गर्नुभयाे । उहाँले तिब्बतमा बौद्ध धर्मको स्थापना र प्रचारप्रसार, साथै ल्हासाको योजनाबद्ध विकासमा समेत भृकुटीको ऐतिहासिक भूमिका रहेको बताउनुभयाे ।
कार्यक्रमलाई कुञ्जो धार्के नेपालीलगायत विभिन्न वक्ताहरूले सम्बोधन गर्नुभएकाे थियाे ।
यस प्रकारका सांस्कृतिक पहिचान झल्काउने गतिविधिले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 




