अर्जुन प्रधान
नेपाली भाषी भूटानी समुदायका चर्चित गीतकार गोविन्द हुमागाईँ लाई अमेरिकाको पाल्माइरा मा एक  सांगीतिक तथा साहित्यिक कार्यक्रमबीच सम्मान गरिएको छ ।
विश्व भूटानी साहित्यिक संगठन (GBLO) र साहित्य कला संगम ल्यानकास्टर को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा हुमागाईँको सिर्जनात्मक योगदानको उच्च मूल्यांकन गर्दै कदरपत्रसहित विशेष सम्मान अर्पण गरिएको हो ।

कार्यक्रममा उहाँका नयाँ कृतिहरूको समेत विमोचन गरिएको थियो । प्रमुख अतिथि महेश थुलुङ ले ‘बुलाकी–२’ गीति एल्बम सार्वजनिक गर्नुभएकाे थियाे भने ‘फूलको आँसु’ गीतसंग्रह हेम धिताल, अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (इन्लाका) का अध्यक्ष डा. हरि उप्रेती र डिबी सारुद्वारा संयुक्त रूपमा विमोचन गरिएको थियो ।

कृतिमाथि टिप्पणी गर्दै डा. उप्रेतीले हुमागाईँका रचनामा भावनात्मक गहिराइ र सामाजिक संवेदनशीलता देखिने बताउनुभएकाे थियाे । साहित्य कला संगम ल्यानकास्टरका संरक्षक हेम धितालको सभापतित्व तथा महेश थुलुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जीवन गुरुङ र स्याम पराशरले भजनमार्फत उद्घाटन गर्नुभएकाे थियाे । कार्यक्रममा हुमागाईँद्वारा रचित १० वटा गीत विभिन्न गायकहरू—जीवन गुरुङ, जितेन्द्र गिरी, बिरेन रसायली, भक्त घले, छवि न्यौपाने, रोनन सुब्बा र नारायण खरेलले प्रत्यक्ष वाद्यवादनका साथ प्रस्तुत गर्नुभएकाे थियाे ।
कार्यक्रममा हुमागाईँको सांगीतिक यात्रा र योगदान समेटिएको वृत्तचित्र प्रदर्शन गरिएको थियो । साथै केशव वैरागी माइलो र भरत तिमिल्सिना ले कविता वाचन गर्नुभएकाे थियाे भने दिपेश चापागाईँ र कुमार सिवाकोटीले गजल प्रस्तुत गर्नुभएकाे थियाे ।

भूटानको पंखेमा जन्मिनुभएकाे ४४ वर्षीय हुमागाईँले हालसम्म ७० भन्दा बढी गीत तथा भजन रेकर्ड गराइसक्नुभएकाे छ । विशेषगरी ‘बाबाको टोपी’ बोलको गीतले उहाँलाई व्यापक चर्चा दिलाएको छ ।

कार्यक्रमले प्रवासमा नेपाली भाषा, साहित्य र पहिचानको संरक्षणमा स्रष्टाको भूमिकालाई उजागर गर्दै ‘जिउँदो स्रष्टाको सम्मान’ को सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ । कार्यक्रमको सञ्चालन देविका बराल र पातलो अन्तरेले गर्नुभएकाे थियाे ।