काठमाडौं । गैर-आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् हङकङको आयोजनामा सम्पन्न विश्वव्यापी ‘इको कविता प्रतियोगिता’मा धादिङका राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद) प्रथम हुनुभएकाे छ । Non-Resident Nepali Association अन्तर्गत आयोजित प्रतियोगिताको नतिजा Earth Day को अवसर पारेर सार्वजनिक गरिएको हो ।

निर्णायक मण्डलका अनुसार भट्टको ‘रुखको रिटार्यमेन्ट पत्र’ शीर्षकको कविताले प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा निर्जला लम्सालको ‘मैलो क्यानभासको निस्सासिँदो हस्ताक्षर’ द्वितीय र अन्चु सुवेदीको ‘आकाशमाथिको धुवाँको हस्ताक्षर’ तृतीय भएका छन् ।
पुरस्कार राशिअन्तर्गत प्रथम हुनेले ३० हजार, द्वितीयले २० हजार र तृतीय हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नुभएकाे छ ।

यसैगरी, उत्कृष्ट ठहरिएका अन्य २० जना स्रष्टालाई जनही २ हजार रुपैयाँसहित शान्त्वना पुरस्कार प्रदान गरिएको छ । शान्त्वना पुरस्कार प्राप्त गर्नेहरूमा मुरारी सिग्देल, नरोत्तम श्रेष्ठ, राजु उवरकोटी, प्रताप चौलागाई, जमुना भट्टराई, भरत थापा, गोमा श्रेष्ठ, शुदर्शन प्रधान, डा. आशबहादुर तामाङ, गायत्री कुलुङ, डोम राना मगर, डा. कमला तामाङ, डा. नवीनबन्धु पहाडी, दीर्घबहादुर चन्द, राजेश सापकोटा, रोशन आपगाई, सीमा ढुंगाना, डा. देवेन सापकोटा, डिइबी सिकारु र सुशीला शर्मा धमला रहनुभएकाे छ ।

वातावरणीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले जलवायु परिवर्तन र वातावरणीय चुनौतीलाई साहित्यको माध्यमबाट उजागर गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको आयोजकको विश्वास छ ।