अर्को ५ महिना बित्यो कि । सायद ६ महिना । वा ४ महिना । जे होस्, मैले नलेखेको १०० दिन नाघेको भने पक्कापक्की नै हो ।

नलेखेको ? तर, म लेखिरहेछु । मलाई जहाँसम्म याद छ, पछिल्ला दिनहरूमा दिनको एउटा जस्तो लेखहरू लेखिरहेछु । कुनै छापा माध्यमबाट, कुनै अनलाइन पोर्टलबाट, कुनै फेसबुक पोस्ट । कुनै चाहिँ सीमित पैसा लिएर अमुक नेतागण एवं हृष्टपुष्ट सरकारी कर्मचारीहरूको स्वार्थ अनुकूलको विषयवस्तुहरूबारे लेखिदिन्छु, यस्तो लेखमा म आफ्नो नाम लेख्दिन । उनीहरूकै नाममा छपाइदिन्छु, र त्यसबापत ३ हजारदेखि १० हजारसम्म लिन्छु । र, आफ्नो एउटा मामुली आर्थिक कष्टलाई स्याहार्छु । या आर्थिक सङ्कटलाई थुमथुम्याउँछु ।

उछितो काढेर भन्दा वर्तमान काल (जहाँ मेरो मुटु देख्छ र ग्यास्ट्रिक हो कि भन्ने अन्दाज गरी जँचाउन जाँदिनँ र अनगिन्ती पटक आफ्नो खस्कँदो शारीरिक स्वास्थ्यको चिन्ता गरिबस्छु),मा पैसा अनिवार्य, अपरिहार्य, अत्यावश्यक साथै निरन्तर चाहिने वस्तु भएको छ । असार-साउनमा पानी नपर्न पायो, तर पैसाको हिलो हरेक व्यक्तिले पाइलैपिच्छे छाप्नुपर्ने भएको छ । सक्नेलाई अर्कालाई छाप्छन् र आफू चोखिन्छन् (ती राजनैतिक काण्डवाजहरू भए) । नसक्नेले यही यस्तै गनगन गर्छन्, आफैँलाई हिलो छ्यापिरहन्छन् ।

हालसालैको घटना सुनाउँदा, हातगोडा झमझमाउने र छाती आसपास दुख्ने भइरहेपश्चात् म डाक्टरकहाँ गएँ । फुलबडी छेक गर्दा केही देखिएन, तर छाती अहिले पनि बिझाइरहेकै छ । र, सबभन्दा दुर्भाग्य, दिमाग शान्त रहन छोडेको छ । मलाई याद छ, म हदभन्दा बेसी खुलबिन्दाङ मनुस्से थिए विगतमा । मलाई उति साह्रो झिनाझम्टीमा रुचि थिएन । एउटा आँट थियो कि, लेखेको छु, पढ्नेले पढेका छन्, राम्रै भनेका छन् । भेट्दा चिया-नास्ता खुवाएका छन् वा सम्मान जताएका छन् । एउटा असीमित मानिसिक तृप्ति बोकीकन हिँडिरहने ती दिनहरूलाई सम्झँदा मलाई कुक्क बाडुल्की छुट्छ । अत्यधिक चिया-चुरोट सेवन ती दिनका मेरा बिहान-साँझहरू थिए । मध्यान्हमा म घाट वा काठमाडौँका कुनाकन्दरामा लर्खराइरहन्थे । एउटा मौन साक्षी बनेर । मलाई कहिलेकाहीँ लाग्छ पनि, ती हरेक दिनलाई लिपिबद्ध गर्न सके भने मैले एउटा घच्चीको उपन्यास तयार पार्न सक्छु । हरेक झ्याल, हरेक झ्यालमा हल्लिने पर्दा र देखिने छायाहरू मलाई याद छ । हरेक साँघुरा गल्लीहरूबाट देखिने एक-एक टुक्रा आकाशको सिङ्गो कोलाज मकन छ । मैले यस सहरमा चानचुन ११ वर्ष व्यतीत गरिसक्दा ११ हजार वटा आकाशका टुक्रा देखेको हुँदो हुँ । सोही मात्रामा चप्पल-जुत्ताका छाप देखेको छु ।

आजभोलि सीमित नाटकको दर्शक बन्न र एक दुई वटा साहित्यिक जमघटहरू बाहेक अन्यत्र मलाई रुचि छैन । यी पनि मन लागेर वा इच्छा जागेर होइन । केही आफ्नै साथीभाइ लागिरहेका छन्, केही आफ्नै अग्रजहरू पुस्तक विमोचन गरिरहेका भेटिन्छन्  । कहिलेकसो मेरो डेरा नजिकै कोही ‘कविजी’ भन्दै आइपुगेका हुन्छन् र म उनीहरूलाई भेटिदिन्छु । तर, यी बाहेक दिनमा २४ कप सम्म चिया खाएर भृकुटीमण्डपमा गोलमेच सम्मेलन गरी २१ जनाको तोरी लाहुरे कविता सुन्न छाडियो । यताको र उताको गुट पसेर झगडा गराइन छाडियो । वा भनौँ, आफ्ना तथानाम साहित्यिक जिज्ञासा शान्त पार्न हप्तामा दुई जनालाई जस्तो ‘गजल गफ’, ‘पुस्तक वार्ता’, ‘उक्ति-प्रतियुक्ति’, ‘महिनावारी बहस, ‘कविताका कुरा’ आदित्यादी विभिन्न पत्रपत्रिकाका स्वयं रचित स्तम्भहरू निम्ताउन छाडियो ।  कसलाई के पो सोध्नु जस्तो लाग्ने । कति प्रश्न मात्रै गरिरहनु पनि लाग्ने, उत्तर एकै छन्, उस्तै छन् । ‘नेपाली साहित्य भट्टीबाट निस्कियो तर पानी पिएर, यसैले मात छैन ।’ यो सत्य वाक्य हो । यसमा के धेरै गलफती गर्नु ? नेपाली गजल बाटो कुबाटोमा पराग खाइरहेको भेटिन्छ, यसैले उसमा सुवास छैन । नेपाली कविताले आफूले सुतेको ओछ्यान मिलाउन छोड्यो । नेपाली उपन्यासहरू आफ्ना झरेका शारीरिक रौँ एवं आफैद्वारा विसर्जित मलमूत्रको खोजीमा छन् । नेपाली निबन्ध छाता किन्न खोज्छ तर चर्को घाम र झरीसँग ऊ तर्सिन्छ र देवकोटा या प्रधानको निबन्धको गाता उप्काएर बस्छ । नेपाली कथा बिछट्ट छाँटिन्छ तर जिप लगाउन बिर्सिन्छ । समालोचनाहरूले दही र केरा खान थालेकाले उनीहरू हरेक साहित्यकार एवं साहित्यिक गोष्ठीका डिजर्ट जस्ता भएका छन्, मुख गुलियो बनाउन हरेक पटक प्रयोगमा आइरहन्छन् ।  र, पुरस्कार संस्थानहरू एकेडेमी वरपर या व्यापारिक घराना वरपरको ढल सफा गरिरहेका हुन्छन्, एक्कासि फुत्तै टाईकोट लगाएर भन्न भ्याइहाल्छन्, “साहित्यिक श्रीवृद्धि, साहित्यिक योगदान, वरिष्ठज्यू..।” एसीमा कि..।

अलि सन्चो भयो यार । मुटु पनि ठाममा आयो ।

अब म आफ्नै कुरा गर्छु । अरूका कुरा अरूले गरुन् । कुरा के भन्दा, रातको १२ बज्न ६ मिनेट बाँकी रहेको यस प्रहारमा मलाई निन्द्रा लागेको छैन । अनिद्रालु मान्छे बैँसालु हुन्छन्, यो हो तर, मेरा कपालका रौँहरू फुल्न थालेका छन् । २६ वर्षमा २६ वटा रौँ फुल्नु भनेको बाटोघाटामा हिँड्दा ‘अङ्कल’ सम्बोधित हुनु मात्रै होइन, धेरै थोक र धेरै वस्तुसँग झ्याउ लाग्नु पनि हो । दिक्कै लाग्नु। वाक्कै हुनु ।

भइदियो के भन्दा, दिनमा एउटा जस्तो आर्टिकल लेख्दा, त्यसका पाठक कोको हुन् मलाई पनि थाहा छैन । आएका प्रतिक्रियाहरूसँग पनि मलाई वास्ता लाग्दैन । नआएकाहरूसँग लाग्छ, तिनलाई बेवास्ता गर्न मैले सकेको छैन । दिनमा एउटा आर्टिकल लेख्नु भनेको दिनमा एउटा विषयको साङ्गोपाङ्गो अध्ययन गर्नु हो । र, २ वर्षदेखि निरन्तर यही काम गरिरहेछु । र, यस क्रममा मलाई के फिल छ भन्दा, अब विषयवस्तुहरू दोहोरिन थाले । २ वर्ष अर्थात् ७३० दिन अर्थात् ७३० वटा लेख । नेपालमा लेख्नलाई चानचुन हजार भन्दा बेसी विषय छैनन् क्यारे । तर, चानचुन २०० विषयमा मात्रै लेखिएको होला, २० औँ लाख पटक । उसो भए, बाँकी ८०० विषयहरू के हुन्, कहाँ होलान् ? कसले लेख्लान् ? यो प्रश्नमा जति पनि प्रतिप्रश्न गर्न सकियो । तर, मसँग उत्तर नभएकाले यसलाई यही तुर्छु ।

अर्को कुरा के गरौँ भन्दा,पछिल्लो १ वर्ष जतिमा चानचुन डेढ सयवटा जति जात्रा, पर्व वा चाडपर्वलाई नजिकबाट नियाल्न भ्याएछु । त्यसो गर्दा के पाइयो भन्दा, यी कुराहरूमा ऐतिहासिकता त छँदै छ, पुरातात्त्विक र सांस्कृतिक भ्यालु पनि छ । तर, यसो विचार गर्छु, यिनमा धार्मिक भ्यालु कम छ । मलाई लागिरहेछ, संस्कृति र धर्मबिच एउटा ग्याप आएको छ । धर्म ओल्ड फेसन हुँदै गाछ तर, सांस्कृतिक अवयवहरू भने जोगिन खोज्दै छन् । न नेवार कट्टर छन्, न मैथिल । न थारु कट्टर छन्, न मगर । थोरै थोरै कट्टरता देख्छु तर त्यो विधि होइन, जो इतिहास पढिरहँदा नेपालमै, ग्रेट ब्रिटिसमै वा भारतका पौराणिक कथाहरूको लेखनकालतिर देखिन्थ्यो । बिस्तारै, धार्मिक कट्टरतालाई नेपालले अलि पर राखेर सांस्कृतिक पुनर्जागरणलाई  अगाडि सारिरहेको छ । हो, यसमा कमी के छ भन्दा बुढा पुस्ता र नवपुस्ताबिच समान लगाव छैन । नवपुस्ताले संस्कृति जोगाउन खोजेको छ तर, उसकै स्टाइलमा । एउटा बाहुन केटो धोती लगाएर कुलपूजामा सरिक हुन्छ तर व्रत बस्दैन । ऊ कुलपूजा गर्न चाहन्छ तर खाएर । यस्तो खालको सांस्कृतिक जागरण देखिरहेको हो मैले । यसले कुन रूप लिन्छ या लिँदैन, मलाई पनि थाहा छैन । थाहा नभएको कुरालाई यत्तिमै टुंगाइदिएको जाती ।

अर्को कुरा चाहिँ, पुरातात्त्विक र ऐतिहासिक वस्तुहरूसँग अलिअलि घुलमिल भयो २/३ वर्षदेखि । त्यो किन भयो भन्दा यी वस्तुहरू लथालिङ्ग, भद्रगोल र लावारिस बनाइए जहाँतहीँ । काठमाडौँमा नेवारहरूले कतैकतै जोगाएका हुन्, नत्र देशभर नै अवस्था नाजुक छ । तपाईँ कुस्मा जानुस् र दुर्लुंगकोट उक्लनुस्, देख्नुहुनेछ जेसिसका व्यापारिक घरानाले कोटभरि आफ्ना नामका व्यापारिक नेम प्लेट झुन्डाएका छन् । तपाईँ नुवाकोट दर्बार क्षेत्र जानुस्, चिनियाँ कम्पनी चौथो तलामा एक सुरे तुनतुन गरिरहन्छ र छेउको दर्बार हेरचाह अड्डा पब्जी खेलिरहन्छ । तपाईँ जानकी र राम मन्दिर छाडेर छेउछाउ लाग्नुस्, जनकपुरधाम विकास समिति वरिपरिका ऐतिहासिक तालतलैयामा दाना हालेर माछा उब्जाउ गरिरहन्छ । छेउकै धनुषा धाम वा परशुराम तलाउ, शिवजीको पिनाक धनुष देखाउँछन्, तर तालको पलाइरहने जलकुम्भी उखेल्दैनन् । तपाईँ नुनथर पुग्नुस्, छेउको भरत ताल पुगिरहने नेतागण  सम्भावित प्रदेश दुईको राजनैतिक हटस्पट छेउको नुनथरको पुराना शिलालेख र साधुसन्तसँग राम्रो व्यवहार गर्दैन । तपाईँ चाँगुनारायण पुग्नुस्, तपाईँ पशुपति पुग्नुस्, झार्लाङ पुग्नुस्, जलमुखी पुग्नुस्, मुस्ताङ पुग्नुस्, लुम्बिनी पुग्नुस्, दाङ पुग्नुस्, या बर्दियाको राजापुर क्षेत्र पुग्नुस्, कहीँ कतै पुरातात्त्विक संरक्षणको जागरण उठेको पाउनुहुन्न । तपाई पुरातत्त्व विभाग पुग्नुभयो भने तपाईँले सडक विभाग वा प्रहरी विभागको जस्तो गन्ध पाउनुहुनेछ । यो विभागमा सोही प्रकारको छलकपट र बदमासहरूको हालीमुहाली छ । यत्रा विधि कुरा किन गरेको भन्दा, बहुत धेरै पुरातात्त्विक वस्तु हुनाले एउटैको पनि गतिलो संरक्षण देशले गर्ने सकेन । विद्यार्थी पनि कम छन्, अभियन्ताहरूलाई पनि यही विषयमा सधैँ बोल्दा अत्यास लाग्छ । अनि, यसो पुस्तकालयतिर गयो भने, पुराना स्रोत-सन्दर्भलाई तन्काइतुन्काइ गरी नयाँ शैलीमा चोरचार गरिएका शोधपत्रहरू पनि अरू भेटिन्न ।

अहिले पछिल्लो समय वातावरणका विषयहरूमा आफूलाई अल्झाइराछु । यसमा पनि मलाई कुन दिन अल्छी चल्छ, थाहा छैन ।

र, यस्तो हुँदा म सोच्छु कि, म एउटा फट्याङ्ग्रा हुँ क्यारे । फुत्रुक्क फुत्रुक्क उफ्रिरहने । एक ठाउँमा नबस्ने । यदि त्यसो हो भने मैले भर्खरै यहाँबाट पनि उफ्रिनुपर्छ । किनभने मलाई निद्रा जस्तो केही लागेर आएको छ । निन्द्रा लाग्ने औषधि खान्न भनेर ल्यापटप समाएको थिए, कसो कस्तो यति लेखिएछ । यसलाई अब यही तुर्दिऊ ।

अस्तु !