काठमाडौं । बहुविधामा सक्रिय साहित्यकार  गोविन्द गिरी ‘प्रेरणा’को नवीनतम कृति ‘अ–विधवा’ सार्वजनिक भएको छ। इम्प्रिन्ट पब्लिशर्सद्वारा प्रकाशित यो कृति प्रेरणाको सातौँ कथा सङ्ग्रह हो।

साढे चार दशकभन्दा बढी समयदेखि साहित्य साधनामा समर्पित प्रेरणाको यो २८औँ प्रकाशित कृति समेत हो। ‘अ–विधवा’ उहाँकाे दोस्रो लामा कथा सङ्ग्रहका रूपमा आएको हो। यसअघि उहाँका लामा कथाहरूको पहिलो सङ्ग्रह ‘गन्तव्य गणबहाल’ विसं २०७२ मा प्रकाशित भएको थियो।

प्रेरणाले विसं २०३४ सालमा पहिलो कथा ‘किनारा’ प्रकाशनसँगै साहित्यिक यात्राको सुरुवात गर्नुभएकाे हाे । उहाँको पहिलो कृतिका रूपमा कथा सङ्ग्रह ‘सुतेको समुद्र’ विसं २०४० सालमा साझा प्रकाशनबाट प्रकाशित भएको थियो।

उहाँको अर्को कथा सङ्ग्रह ‘अन्तराल’ ले विसं २०४६ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भई भीमचरण थापासँग संयुक्त रूपमा ‘नारायणी वाङ्मय पुरस्कार’ प्राप्त गरेको थियो। कथा क्षेत्रमा निरन्तर योगदान पुर्‍याएबापत प्रेरणाले साहित्यिक पत्रकार संघद्वारा प्रदान गरिने ‘मैनाली कथा पुरस्कार’ समेत प्राप्त गरिसक्नुभएकाे छ ।

नवप्रकाशित कथा सङ्ग्रह ‘अ–विधवा’ मा ७ वटा लामा कथाहरू समेटिएका छन्। ती सबै कथाहरू यसअघि फुटकर रूपमा प्रकाशित नभएका नयाँ रचनाहरू रहेको जानकारी कथाकार प्रेरणाले दिनुभएकाे छ ।