काठमाडौँ । विधाकेन्द्रित साहित्यिक दुईमहिने पत्रिका ‘वैजयन्ती’ शताङ्कसम्म आइपुगेको छ। वि.सं. २०६६ साल वैशाख–जेठबाट प्रकाशन यात्रा सुरु गरेको पत्रिकाले हालै आफ्नो सयौँ अङ्क सार्वजनिक गरेको हो।

शताङ्क विशेष अङ्कमा ‘वैजयन्ती’को स्थापनादेखि हालसम्मको यात्रा, प्रकाशित अङ्कहरूको विवरण र साहित्यिक योगदानलाई समेटिएको छ। पत्रिकाका संस्थापक वसन्तकुमार शर्मा नेपाल हुनुहुन्छ भने प्रकाशक शब्दार्थ प्रकाशन रहेको छ।

हरेक अङ्कलाई एउटै साहित्यिक विधामा केन्द्रित गर्दै निरन्तर साहित्यसेवा गर्दै आएको ‘वैजयन्ती’ले प्रत्येक अङ्कमा एकजना उत्कृष्ट स्रष्टालाई सम्मान गर्ने परम्परालाई पनि निरन्तरता दिँदै आएको छ। यस यात्रामा विभिन्न विधाका अङ्कहरू प्रकाशित गर्दै पत्रिकाले लेखक र पाठक दुवैको मन जित्न सफल भएको छ भने धेरै नयाँ साहित्यकार जन्माउन पनि महत्वपूर्ण भूमिका खेलेको छ।

शताङ्क प्रकाशनको अवसरमा आयोजित सम्मान कार्यक्रममा सहभागी भई साहित्यको रसास्वादन गर्न पाउँदा अत्यन्त खुशी लागेको प्रतिक्रिया साहित्यकार नवराज न्यौपाने ‘मौन’ले व्यक्त गर्नुभएको छ। उहाँले सम्मानित सम्पूर्ण स्रष्टाहरूलाई बधाइ तथा शुभकामना व्यक्त गर्नुभएको छ।

उहाँका अनुसार ‘वैजयन्ती’को चारु अङ्कबाट डा. देवी पन्थी र गजल अङ्कबाट अनुराग अरूण सम्मानित हुनुभएको थियो।

अन्त्यमा नवराज न्यौपाने ‘मौन’ले पत्रिकाका सम्पादक परिवार र प्रकाशक परिवारलाई शताङ्क प्रकाशनको सफलताका लागि बधाइ दिँदै ‘वैजयन्ती’ पत्रिकाको दीर्घायु र निरन्तरताको कामना गर्नुभएकाे थियाे ।