काठमाडौँ। शंकर लामिछाने प्रतिष्ठानद्वारा साहित्यकार शंकर लामिछानेको ५०औँ स्मृति दिवस तथा प्रतिष्ठानद्वारा प्रकाशित ‘शंकर सन्दर्भ’ पुस्तकको परिचर्चा कार्यक्रम आज अनामनगरस्थित डालो रेस्टुरेन्टमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि आख्यानकार पुष्कर लोहनीले दीप प्रज्वलन गर्दै शंकर लामिछानेको तस्बिरमा माल्यार्पण गर्नुभएको थियो।

प्रतिष्ठानकी कोषाध्यक्ष तथा  आख्यानकार पद्मावती सिंहले स्वागत मन्तव्य दिँदै चिसो मौसममा पनि उपस्थित सबैप्रति आभार व्यक्त गर्दै शंकर सन्दर्भ पुस्तकको परिचर्चामा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै शंकर लामिछानेका निबन्धहरूको अङ्ग्रेजी अनुवाद कार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो।

समालोचक प्रा.डा. गोविन्दमान सिंह कार्कीले पारिजातको ‘शिरीषको फूल’ उपन्यासको भूमिकामा शंकर लामिछानेको योगदानकै कारण मदन पुरस्कार प्राप्त भएको भन्ने चर्चा आफूले सुनेको उल्लेख गर्नुभयो।

त्यसैगरी  समालोचक प्रमोद प्रधानले शंकर लामिछानेको साहित्यिक पहिचानमाथि चर्चा गर्दै “जबसम्म हामी पाठकका रूपमा स्थापित हुन सक्दैनौँ, तबसम्म राम्रो लेखक हुन सक्दैनौँ” भन्दै लामिछाने स्पष्ट पहिचान बोकेका जिम्मेवार लेखक भएको बताउनुभयो। उहाँले हाइकु नेपालमा भित्र्याउने साहित्यकारका रूपमा पनि शंकर लामिछानेलाई स्मरण गर्नुभयो।

प्रतिष्ठानका महासचिव तथा नियात्राकार डा. दामोदर पुडासैनी ‘किशोर’ले निबन्ध र साहित्यमा फरक धार निर्माण गरेका शंकर लामिछानेले जति चर्चा पाउनुपर्ने हो, त्यो नपाएको टिप्पणी गर्दै राज्यले निबन्धका कोशेढुंगालाई बेवास्ता गरेको जस्तो अनुभूति भएको बताउनुभयो।

कवि तथा पत्रकार भुपेन्द्र खड्काले चेतन प्रवाह शैली नेपाली साहित्यमा भित्र्याउने सर्जकका रूपमा शंकर लामिछानेको महत्व उल्लेख गर्दै शंकर पढ्नु भनेको जिम्मेवार पाठक र लेखक बन्नु हो भन्ने धारणा व्यक्त गर्नुभयो।

निबन्धकार श्रीओम श्रेष्ठ रोदनले शंकर लामिछानेलाई अन्तर्राष्ट्रिय साहित्यमा चिनाउन सके नेपाली साहित्यको गरिमा अझ उचो हुने बताउँदै “सगरमाथा र बुद्ध मात्र होइन, शंकरका निबन्ध र साहित्यबाट पनि नेपाल चिनिन सक्छ” भन्नुभयो।

प्रमुख अतिथि पुष्कर लोहनीले शंकर लामिछाने आफ्ना पिताका निकट मित्र रहेको स्मरण गर्दै उनका कथा र निबन्धबीचको सीमारेखा छुट्याउन गाह्रो हुने बताउनुभयो। उहाँले ‘शिरीषको फूल’ र ‘माया नं. ६५३’ जस्ता कृतिको सन्दर्भ उठाउँदै शंकर लामिछानेलाई गहिरिएर अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

कार्यक्रमको अध्यक्षता प्रतिष्ठानकी संरक्षक सविता ढुंगानाले गर्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रमको सहजीकरण कवि यादव भट्टराईले गर्नुभएको थियो।

कार्यक्रममा प्रतिष्ठानकी संरक्षक संगीता शर्मा,  कलाकार मदनदास श्रेष्ठ, इतिहासविद् डा. सुरेन्द्र के.सी., गीतकार शोभित उप्रेती लगायत हिरण्यकुमारी पाठक, विमल भौकाजी, शरद प्रधान, शंकर भारती, पवन आलोक, कृष्ण प्रसाईं, डा. शशी थापा, सन्तोष श्रेष्ठ, भवानी खतिवडा, पारशप्रकाश नेपाल, अलका मल्ल, कुमार कार्कीलगायत थुप्रै साहित्यकार तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।

शंकर सन्दर्भ ग्रन्थको सम्पादन पारशप्रकाश नेपालले गर्नुभएको हो।