काठमाडौँ । अपाङ्गता भएका व्यक्तिप्रति समाजको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित प्रदान गरिने एसीबी पुरस्कार–२०८२ तीन फरक विधामा प्रदान गरिएको छ।
माघ ८ गते बुढानिलकण्ठ नगरपालिकास्थित लाबोरेटरि माध्यमिक विद्यालयको परिसरमा आयोजित पुरस्कार वितरण समारोहमा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम डंगोलको प्रमुख आतिथ्यमा पुरस्कार प्रदान गरिएको हो।
एसीबी नमुना शिक्षक पुरस्कार लाबोरेटरि माध्यमिक विद्यालयका शिक्षक क्षेत्रबहादुर बुढाथोकीलाई प्रदान गरिएको छ। समावेशी शिक्षण पद्धति, अपाङ्गताप्रतिको सकारात्मक सोच र सामाजिक व्यवहारका आधारमा उहाँलाई छनोट गरिएको हो।
यसैगरी अपाङ्गता नभएका विद्यार्थीले अपाङ्गता भएका सहपाठीप्रति देखाएको सहकार्य, सहयोग र मित्रताको मूल्याङ्कन गर्दै सोही विद्यालय कक्षा ८ मा अध्ययनरत प्रसिखा भट्टराईलाई एसीबी हातेमालो पुरस्कार प्रदान गरिएको छ।
पत्रकारिताका माध्यमबाट अपाङ्गता भएका व्यक्तिप्रति सकारात्मक सोच प्रवर्द्धन, खोज तथा समावेशी समाज निर्माणमा योगदान पुर्याएको भन्दै नेपाल टेलिभिजनकी पत्रकार आरती चटौतलाई एसीबी प्रोत्साहन पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।
पुरस्कार ग्रहण गर्दै सम्मानित व्यक्तित्वहरूले यस सम्मानले आफूहरूलाई समावेशी समाज निर्माणका लागि अझ जिम्मेवार भएर काम गर्न प्रेरणा दिएको प्रतिक्रिया व्यक्त गर्नुभयाे ।
कार्यक्रममा विद्यालयका प्राचार्य लाक्पा सेर्पा, एसीबी पुरस्कार समितिका संयोजक होमनाथ आचार्यलगायतले समावेशी शिक्षा र समानताको पक्षमा मन्तव्य राख्नुभएको थियो।
डा. कमल लामिछानेद्वारा २०७७ सालमा स्थापना गरिएको एसीबी पुरस्कार अपाङ्गताप्रति समाजमा विद्यमान नकारात्मक र विभेदपूर्ण सोच परिवर्तन गर्दै समानता, सहअस्तित्व र सहकार्यको संस्कृति विकास गर्ने उद्देश्यले हरेक वर्ष प्रदान गरिँदै आएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
११ माघ २०८२, आईतवार 





