काठमाडौँ। पशुपतिनाथ मन्दिरबाट सुरु भएको लेखक अशोक सिलवालको आध्यात्मिक–सांस्कृतिक यात्रा ‘अप्प दीपो भवः यात्रा’ बुद्ध जन्मभूमि लुम्बिनीस्थित मायादेवी मन्दिरमा पुगेर सफलतापूर्वक सम्पन्न भएको छ।
‘आफ्नो प्रकाश आफैँ बन’ भन्ने गौतम बुद्धको सूत्रवाक्यलाई आत्मसात् गर्दै सिलवाल एक हप्ता एक दिन लामो यात्रामा निस्कनुभएको थियो। यात्राको उद्देश्य लेखनलाई भुईँका संवाद, मानवीय संवेदना र जीवन्त अनुभवसँग जोड्दै सद्भाव, सहअस्तित्व र आन्तरिक उज्यालोको खोज गर्नु रहेको उहाँले बताउनुभयो।
यात्रा समापन अवसरमा लेखक सिलवालले आफ्नो पुस्तक ‘अप्प दीपो भवः’को दोस्रो संस्करण मायादेवी मन्दिर परिसरमै सार्वजनिक गर्नुभएको छ। यसअघि उक्त पुस्तकको पहिलो संस्करण कैलाश–मानसरोवर यात्राको अनुभव समेट्दै तिब्बतको ल्हासास्थित विश्वप्रसिद्ध पोताला दरबारमा सार्वजनिक गरिएको थियो।
‘सत्यम्, शिवम्, सुन्दरम्बाट अप्प दीपो भवःसम्मको यो यात्राले लेखनलाई भुईँको जीवनसँग जोड्ने काम गरेको छ,’ सिलवालले भन्नुभयो, ‘यो यात्रा भौगोलिकभन्दा बढी चेतनाको यात्रा हो।’
लाङटाङ सद्भावनादूतसमेत रहनुभएका सिलवालका यसअघि प्रकाशित कृतिहरूमा यात्राका संस्मरण समेटिएको ‘श्रीलंका स्मृति’ तथा संसारको सर्वोच्च शिखरलाई भुईंतिरबाट नियालिएको ‘एभरेस्टः एन अनफिनिस्ड स्टोरी’ लगायत रहेका छन्।
यात्राका क्रममा स्थानीय विद्यालय, पालिका, धार्मिक तथा आध्यात्मिक केन्द्र, सामाजिक संघसंस्था तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूसँग अन्तरक्रिया कार्यक्रमसमेत गरिएको थियो। यात्रालाई धुनीबेसी नगरपालिका, नौबिसे हेल्थपोस्ट, मलेखु टिचिङ हस्पिटल, देवघाटस्थित गलेश्वर आश्रम, श्रीरामकुटी, दाउन्ने देवी मन्दिर संरक्षण तथा व्यवस्था समिति, साङक देक्षेनलिङ बौद्ध गुम्बा, राममणि बहुमुखी क्याम्पस, न्यु इन्भायरन्मेन्ट इङ्ग्लिस सेकेन्डरी स्कुल, होटल संघ लुम्बिनी, राजकीय बौद्ध बिहारलगायत संस्थाहरूले स्वागत गरेकाे थियाे ।
‘यस यात्रामा जोडिएर असंख्य मानिसहरूले यसलाई जीवन्त बनाइदिनुभयाे, त्यसैले यो यात्रा अझ विशेष भयो,’ सिलवालले भावुक हुँदै थप्नुभयो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
११ माघ २०८२, आईतवार 




