बुटवल। प्रश्रित प्रतिष्ठान नेपालको आयोजना तथा मणिमुकुन्द कलेजको सहकार्यमा बुटवलमा लघुकथामा केन्द्रित कृति लोकार्पण, परिचर्चा, लघुकथा वाचन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
प्रतिष्ठानका महासचिव डा. शालिकराम पौड्यालको सञ्चालन, अध्यक्ष प्रा.डा. कपिल लामिछानेको सभापतित्व तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको स्वागत मन्तव्य प्रतिष्ठानकी उपाध्यक्ष प्रा.डा. गितु गिरीले राख्नुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. आचार्यले साहित्यले निराशा होइन, समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले साहित्य समाज परिवर्तनको प्रभावकारी माध्यम बन्न सक्ने धारणा राख्नुभयो।
सो अवसरमा विभिन्न २१ जना विद्वानद्वारा लिखित तथा डा. शालिकराम पौड्यालद्वारा सम्पादित कृति ‘कपिल लामिछानेको लघुकथा साधना’ प्रमुख अतिथिलगायतबाट लोकार्पण गरिएकाे थियाे । लघुकथाकार कपिल लामिछानेका हालसम्म छ वटा लघुकथासङ्ग्रह प्रकाशित भइसकेका छन्।
लोकार्पित कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै रुद्र ज्ञवाली, ऋषिराम भुसाल, डा. अजित खनाल र वनमाली निराकारले यस ग्रन्थले कपिल लामिछानेको दीर्घकालीन लघुकथा साधनाको सम्यक् मूल्याङ्कन गरेको धारणा व्यक्त गर्नुभयो। उहाँहरूले वक्रोक्ति, प्रगतिशीलता, शैली–शिल्प, जनजीविका, अभिघात र पर्यावरणीय चेतका कोणबाट समेत थप अध्ययन हुनुपर्ने सुझाव दिनुभयो।
कार्यक्रममा भुँडीपुराण प्रकाशनका प्रबन्धक केशवप्रसाद पराजुलीलाई दोसल्ला, टीका, माला र सम्मानपत्रद्वारा सम्मान गरियो भने सम्पादक डा. शालिकराम पौड्याललाई पनि दोसल्ला, टीका र मालाबाट सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूको परिचय डा. नारायणप्रसाद पन्थ र ईश्वरी पोखेलले प्रस्तुत गर्नुभएको थियो।
सम्मान ग्रहण गर्दै प्रकाशक पराजुलीले प्रकाशक लेखक र पाठकबीचको पुल भएको उल्लेख गर्दै प्रकाशन क्षेत्रमा ठूलो जिम्मेवारी रहेको बताउनुभयो।
विशिष्ट अतिथि प्रसिद्ध उपन्यासकार नीलम कार्की निहारिकाले लेखक तथा प्रकाशकलाई बधाई दिँदै सिर्जना र प्रकाशन प्रक्रियामा सम्पादनको भूमिकालाई महत्वपूर्ण बताउनुभयो। बुटवल बहुमुखी क्याम्पसका प्रमुख अरुणकुमार क्षेत्रीले पठन संस्कृति ह्रासोन्मुख बन्दै गएको अवस्थामा लेखन र प्रकाशन चुनौतीपूर्ण बनेको धारणा राख्नुभयो।
कार्यक्रममा सरु ज्ञवाली, यज्ञलाल सुवेदी, खगेन्द्र बस्याल, लक्ष्मण ज्ञवाली, विजय सागर, हृदय लेकाली, राजेन्द्र आचार्य, इन्दिरा देवकोटा, डीआर न्यौपाने, उद्धव देवकोटा, तिलक लामिछाने, डा. हरिप्रसाद भण्डारीलगायत स्रष्टाहरूले लघुकथा वाचन गर्नुभएको थियो। कार्यक्रममा ७५ भन्दा बढी साहित्यकार र स्रष्टाहरूको उपस्थिति रहेको थियो।
समापन मन्तव्यमा अध्यक्ष प्रा.डा. कपिल लामिछानेले लघुकथा समयको माग भएको विधा भएकाले यसमा केन्द्रित कार्यक्रम आयोजना गरिएको बताउँदै लघुकथामार्फत पनि समाज रूपान्तरण सम्भव हुने स्पष्ट पार्नुभयो।
कार्यक्रमको दोस्रो चरणमा लेखक र प्रकाशकबीच लेखन तथा प्रकाशनका विषयमा अन्तर्क्रिया समेत सम्पन्न भएको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
७ माघ २०८२, बुधबार 








