काठमाडौं । नेपाल मुक्तक प्रतिष्ठान, केन्द्रीय समिति काठमाडौँको आज राजधानीमा सम्पन्न बाह्रौँ साधारणसभाले मुक्तककार रामकाजी कोनेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ।

साधारणसभाबाट उपाध्यक्षमा राधेश्याम लेकाली, महासचिवमा यादव भट्टराई, सचिवमा बादल घिमिरे, कोषाध्यक्षमा दिव्य गिरी तथा सदस्यहरूमा ई. विष्णुबहादुर सिंह र गुप्तबहादुर श्रेष्ठ चयन हुनुभएको छ।

यसैगरी संस्थाको सल्लाहकारमा वियोगी बुढाथोकीलाई मनोनयन गरिएको छ भने ज्ञानुवाकर पौडेल, तीर्थ श्रेष्ठ र प्रा. डा. लक्ष्मणप्रसाद गौतम सल्लाहकारका रूपमा यथावत् रहनुभएको छ। सभाले निशा के. सी. लाई अमेरिकाको मिशिगन राज्यमा च्याप्टर निर्माण गर्ने जिम्मेवारी पनि प्रदान गरेको छ।

साधारणसभामा प्रतिष्ठानका महासचिव यादव भट्टराईद्वारा प्रस्तुत महासचिवको प्रतिवेदन र कोषाध्यक्ष निशा के. सी.द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो।

प्रतिष्ठानले आगामी २०८२ माघ १८ गते मुक्तक दिवस तथा प्रतिष्ठानको वार्षिकोत्सव समारोह आयोजना गर्ने जानकारी समेत दिएको छ। साहित्यिक विधा मुक्तकको प्रवर्द्धन, विस्तार र संस्थागत विकासका लागि नयाँ कार्यसमितिले थप सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।