साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

रामकाजी कोनेका तीन मुक्तक

Chovar Blues Mobile Size
रामकाजी कोने

काली नदी झुक्याउनलाई अर्कैतिर देखाएर मार्यो
वार्ताका लागि वार्ता भन्दै वर्षौँ बिताएर मार्यो
स्वार्थका ललिपपमा जग्गा धनीहरु नै भुलेपछि
छिमेकीले लिपुलेकको लालपुर्जा आफ्नै बनाएर मार्यो।

कटमेरो हैन सम्बन्ध हजुर गुलियो र पाक्ने होस्
आफूलाई मात्रै छोप्ने हैन, अरुलाई नि ढाक्ने होस्
दुई जिब्रे साथी हुनु भन्दा त नभएकै जाति हजुर
दोस्ती त यस्तो होस् परिआउँदा गर्दन थाप्ने होस् ।

सम्झनाका हजार काउकुतीले हुँदैछु मगन मस्त
नढाँटीकन भन्देऊन के छ तिम्रो मनको बन्दोबस्त
तिम्रो त म छँदैछु नि मलाई कठै भन्ने को छ र ?
सम्हालिदेऊ न सोल्टिनी नत्र म त हुन्छु अस्तव्यस्त।

प्रतिक्रिया
Loading...