अमेरिका नेपाल साहित्य प्रतिष्ठानको आयोजनामा पत्रकार तथा साहित्यकार जयदेव गौतमको चौथो पुस्तक ‘किताबको अँगालोमा’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । फल्स चर्च, भर्जिनियास्थित थोमस जेफर्सन पुस्तकालयको सभाकक्षमा आयोजित कार्यक्रममा कृतिमाथि गहन छलफल गरिएको थियो ।
कार्यक्रममा वक्ताद्वय तीर्थराज पाण्डेय र नारायण अधिकारी अभिनवले कृतिका विविध पक्षबारे विचार प्रस्तुत गर्नुभयाे । पुस्तकबारे चर्चा गर्दै तीर्थराज पाण्डेयले यो कृति पढेपछि पुस्तक समीक्षा सम्बन्धी आफ्ना मान्यतामा परिवर्तन आएको उल्लेख गर्नुभयाे । अर्का वक्ता नारायण अधिकारीले समीक्षा गरिएका कृतिहरूका साथै तिनका भूमिका समेत समीक्षा गरिएको विशेषता औँल्याउनुभयाे ।
कृतिकार जयदेव गौतमले आफूले पढेका कृतिहरूका गुण–दोष केलाएर समीक्षा लेखेको भए पनि साहित्यिक सिद्धान्तका आधारमा समालोचना नगरेको स्पष्ट पार्नुभयाे । उहाँले यस पुस्तकमा शुद्ध समीक्षात्मक लेखनलाई प्राथमिकता दिएको बताउनुभयाे ।
कार्यक्रममा क्यानाडाबाट सहभागी साहित्यकार गोविन्दसिंह रावतले उपस्थित हुन पाएकोमा कृतज्ञता व्यक्त गर्नुभयाे । प्रमुख अतिथि अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूत शरदराज आरणले पुस्तकले विभिन्न कृतिबारे जानकारी दिने भएकाले पाठकका लागि उपयोगी रहेको धारणा राख्नुभयाे ।
कार्यक्रमका सभाध्यक्ष तथा अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष गोविन्द गिरी प्रेरणाले नेपाली साहित्यमा ‘तारिफोलोजी’ हाबी हुँदै गएको सन्दर्भ उल्लेख गर्दै ‘किताबको अँगालोमा’ लाई ‘एण्टी तारिफोलोजी’ कृति भन्नुभयाे ।
लेखिका पुष्पा खनालले सञ्चालन गरेको कार्यक्रममा परिचर्चा गरिएको पुस्तकमा विभिन्न विधाका ४२ कृतिको समीक्षा समेटिएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१३ पुष २०८२, आईतवार 










