जोडीका कविता – तारक धिताल, दिना सुवेदी
कविद्वय तारक धिताल र दिना सुवेदीको संयुक्त कविता संग्रह हो ‘जोडीका कविता’ । कविद्वयले आफ्नो बैबाहिक वर्षगाँठको अवसरमा आफ्नो कविताहरुलाई पुस्तकको रुपमा सार्वजनिक गर्नुभएको हो ।
”जोडीका कवितामा नेपाली जनजीवनका आवाज र सरोकारहरूको पुनर्सिर्जन गरिएको छ र तिनमा अक्षरलाई लयको गति दिइएको छ अनि शब्दमा विचारको प्राण भरिएको छ ।” पुस्तकमा विन्दु शर्मा लेख्नुहुन्छ, ”यसका कविताले जीवन्तता सिर्जना गर्ने क्रममा कविका आवेग र संवेगलाई सलयित र सुगठित पारेका छन् । यसमा जीवनलाई राजनीति, समाज, संस्कृक्ति र मानवीय सम्बन्धका बृहत् आयामबाट हेरिएको छ । यिनमा राज्यका मुखर हुनुपर्ने बोली मधुरो हुँदै गएको चिन्ता एवम् समयअनुसार खारिएर जानुपर्ने दार्शनिक आधार खिइँदै गएको विडम्बनाप्रति असहमति प्रकट गरिएको छ । समाजमा भएको बेठिक कुरा र दार्शनिक दिवालियापनको प्रतिरोधी अभिव्यक्तिका दृष्टिले यी कविता सफल छन् ।”
त्यसैगरी पुस्तकमा विमल निभा लेख्नुहुन्छ, ”कवि तारक धितालको ‘जोडिका कविता’को अवधारणा मलाई रोचक एवं मौलिक लागेको छ । वस्तुतः यो सहधर्मिणी कवि दिना सुवेदीसंग उनको तीस वर्षे सम्बन्धको सघन प्रस्तुति हो भने पनि हुन्छ । यही सन्दर्भमा मलाई अनायास कुनै बखत उनले निकाल्ने गरेको साहित्यिक पत्रिका ‘हातेमालो’को स्मरण भइरहेको छ । यसलाई सुखद् संयोग नै भन्नु पर्ला, कवि दिना सुवेदीसंगको कवि तारक धितालको ‘जिन्दगीको हातेमालो’को कवितात्मक निष्कर्षको रुपमा ‘जोडिका कविता’ प्रकाशित हुनलागेको छ । यस्तो सिर्जनात्मक साहित्यिक ऊर्जाकानिम्ति म ‘जोडिका कविता’ का कविद्वय दिना सुवेदी र तारक धिताललाई हार्दिक वधाई दिन्छु ।”
पुस्तकलाई मण्डप पब्लिकेशन हाउसले बजारमा ल्याएको छ । कविद्वयको ३०, ३० ओटा गरी जम्मा ६० ओटा कविता संग्रहित पुस्तकको मूल्य दुई सय ५० रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
११ पुष २०८२, शुक्रबार 




