नेपाली राजनीतिको रङ्गमञ्चमा दशकौँदेखि एउटै दृश्य दोहोरिन्छ । मञ्चमा चिल्ला र सुकिला दौरा–सुरुवाल, सुरक्षित भाषण र भारी शब्दहरू । नेपथ्यमा भने फुटेका हत्केलाबाट बगेको पसिनाको महासागर— जसको पसिनाले देश चल्छ, उसैलाई राज्यले कहिल्यै देख्दैन । यहाँ कुर्सीले सधैँ अत्तरको सुगन्ध खोज्यो भने श्रमिकको पसिनालाई ‘दुर्गन्ध’ ठानेर नीति र सम्मान दुवैबाट बहिष्कार गर्यो । नेताहरूले सपनाको कारोबार गरे, श्रमिकले माटोमा आफ्नो अस्तित्व गाडे । विडम्बना, जसको पसिनाले देशको धमनीमा रगत बगायो उही मान्छे सधैँ राज्यको परिभाषाबाट बाहिर रह्यो ।
यही जडताबीच पछिल्ला वर्षमा एउटा अस्वाभाविक तर स्पष्ट दृश्य देखियो— धरानका मेयर आफैँ ढुङ्गा बोक्छन्, ढलमा पस्छन् र पाइप तान्छन् । यो दृश्यले जन्म दियो— ‘हर्कवाद’ । प्रश्न उठ्छ: के यो साँच्चै श्रमको उत्थान हो कि मरणासन्न राज्य–संयन्त्रले आफ्नो लाज छोप्न ओढेको भाइरल च्यादर ?
जब एउटा जनप्रतिनिधिको न्यूनतम कर्तव्य नै राष्ट्रिय उत्सव बन्छ, तब बुझ्नुपर्छ— लोकतन्त्रको शरीरभित्र गहिरो रोग पलाइसकेको छ ।
श्रम र शिक्षाको धोका
हाम्रा विश्वविद्यालयहरू ज्ञानभन्दा बढी ‘ह्वाइट–कलर’ अहंकार उत्पादन गर्ने कारखाना बने । किसानको छोरालाई एउटा भ्रम बेचियो— “पढेपछि हलो जोत्न पर्दैन ।” यो शिक्षा थिएन, यो श्रमप्रतिको घृणाको विजारोपण थियो । यसरी, माटोलाई अतीत र कुर्सीलाई भविष्य मान्ने पुस्ता तयार गरियो, जसका लागि श्रम सजाय बन्यो ।
राजनीतिमा श्रम सधैँ दोस्रो दर्जामा रह्यो । पञ्चायतमा हुकुमको दास, बहुदलमा भोटको साधन, गणतन्त्रमा रेमिट्यान्स छाप्ने मेसिन । सिंहदरबारमा बजेटका अङ्क नाच्दा, त्यो बजेट खन्ने कुटो–कोदालोको अनुहार भने कहिल्यै नीतिमा अटेन । सडक बन्यो, डोजर देखियो तर त्यही सडक बनाउने श्रमिकको सपना चाहिँ कहिल्यै राज्यको सपना बनेन ।
यही रिक्तताबीच जब एक जना मेयरले पाइप बोके, त्यो दृश्य ‘मसिहा’ जस्तो बन्यो । यद्यपि, एउटा व्यक्तिको काँधले सिङ्गो प्रशासनिक असफलता कति दिन थाम्न सक्छ ?
रेमिट्यान्स: पसिनाको निर्वासन
हाम्रो अर्थतन्त्रको मेरुदण्ड भनिने रेमिट्यान्स वास्तवमा श्रमको सामूहिक निर्वासन हो । त्रिभुवन विमानस्थलको प्रस्थान कक्ष जहाँबाट दैनिक हजारौँ युवा बाहिरिन्छन् त्यो नै राज्यको असफलताको सबैभन्दा ठूलो प्रमाण हो ।
कतारका रङ्गशालाको कङ्क्रिटमुनि कति नेपालीको अन्तिम सास थुनिएको छ, हामीले गनेनौँ । ५० डिग्रीको रापमा मरुभूमिमा एउटा नेपाली ढल्दा, काठमाडौँमा ‘ रेमिट्यान्सले जिडिपी धान्यो’ भन्दै उत्सव मनाइन्छ । यो आर्थिक उत्सव नभएर लासहरूको व्यापार हो । एउटा युवा जिउँदो बाहिरिन्छ, काठको बाकसमा फर्किन्छ । राज्यले त्यसलाई एउटा फाइल बनाउँछ— ‘दुर्घटना’, ‘नेचुरल डेथ’ ।
श्रम र जातको अपवित्र गठजोड
नेपालमा श्रम र जात छुट्याउनै नसकिने गरी जेलिएका छन् । देशको सबैभन्दा गह्रौँ काम सदियौँदेखि ‘पानी नचल्ने’ बनाइएका समुदायको काँधमा हालियो र त्यही कामका कारण उनीहरू अपवित्र ठहरिए । शहर सफा गर्नेहरू सहरबाटै बहिष्कृत भए ।
विडम्बना यहाँ छ, जब कथित उच्च जातको कोही ढलमा पस्छ, त्यो क्रान्ति बन्छ । तथापि, सदियौँदेखि ढलसँग जुध्नेहरू आज पनि किन अपमानमै छन् ? एउटा दलितले ढल सफा गर्दा त्यो ‘नियति’ हुन्छ, मेयरले गर्दा ‘राष्ट्रिय गौरव’ ? यदि श्रम संस्कृति इमानदार हो भने, उसले श्रमलाई जातको पिँजडाबाट मुक्त गर्नुपर्छ । जबसम्म श्रमिकको छोराले गर्वका साथ आफ्नो पेशा भन्न सक्दैन, तबसम्म श्रमको मुक्ति सम्भव छैन ।
विश्वव्यापी सन्दर्भ: जापानदेखि इजरायलसम्मको पाठ
श्रमलाई संस्कृति बनाउने मुलुकहरूले कसरी प्रगति गरे ? जापानमा फोहर संकलन गर्ने व्यक्तिको सामाजिक दर्जा उच्च छ । इजरायलमा कृषि कार्यलाई राष्ट्रिय सेवा मानिन्छ । उनीहरूले श्रमलाई केवल ‘ज्याला’सँग मात्र होइन, ‘राष्ट्रिय गौरव’सँग जोडेका छन् ।
नेपालमा भने श्रमलाई ‘बाध्यता’ मानिन्छ । हामीकहाँ जबसम्म कुनै व्यक्ति अरू विकल्प नभएर मात्र श्रमिक बन्छ, तबसम्म श्रम संस्कृति फस्टाउँदैन । जब व्यक्तिले ‘रहर’ र ‘गर्व’ले श्रम रोज्छ, तब मात्र समाज रूपान्तरण हुन्छ । राज्यले श्रमिकका लागि पेन्सन, सामाजिक सुरक्षा र स्वास्थ्य बिमाको यस्तो ग्यारेन्टी गर्नुपर्छ कि ‘म श्रमिक हुँ’ भन्दा कसैको टाउको ननिहुरियोस् ।
हर्कवाद: चेतावनी कि समाधान ?
हर्कवाद कुनै लिखित सिद्धान्त होइन । यो राज्यको दशकौँको बेवास्ताबाट नागरिकमा उम्लिएको आक्रोश हो— काम नगर्ने कर्मचारीतन्त्र, भ्रष्ट ठेकेदार र जनताबाट टाढिएका नेताप्रतिको आक्रोश । यद्यपि, लोकतन्त्र संस्थामा टिक्छ, व्यक्तिमा होइन । यदि एउटा शहरमा पानी खुवाउन मेयर आफैँ पहाड चढ्नुपर्छ भने, त्यो विकास मोडल कोमामा छ भन्ने प्रमाण हो ।
हर्कवादको लोकप्रियता उपलब्धि मात्र होइन चेतावनी पनि हो । नायक पूजा गर्ने समाजले सधैँजसो आफ्नै नागरिक अधिकारको चिहान खन्ने गरेको इतिहासले देखाइसकेको छ ।
पसिना र प्रविधिको बहस
हामी एआई र रोबोटिक्सको युगमा छौँ । ढुङ्गा बोक्नेमै गौरव खोज्नु इतिहासतर्फ फर्कनु हो । साँचो श्रम संस्कृति त्यो हो, जसले प्रविधिबाट शारीरिक सास्ती घटाउँछ र मान्छेको सिर्जनात्मक उत्पादकत्व बढाउँछ । डोजरले गर्ने काम पिठ्युँबाट गराएर त्यसैलाई विकास भनियो भने, त्यो सम्मान होइन शोषण हो ।
भाइरल श्रमको भ्रम
यो दृश्यको युग हो । टिकटक र रिल्सले राजनीतिलाई इभेन्ट मानेजमेन्ट बनाइदिएको छ । श्रम जब क्यामराका लागि गरिन्छ, त्यो सेवा रहँदैन— स्टन्ट बन्छ । दृश्यमा देखिने श्रमभन्दा नीतिमा कोरिने श्रम हजार गुणा शक्तिशाली हुन्छ । लाइक र सेयरले व्यवस्था बदल्दैन ।
निष्कर्ष: कठघराभित्र ‘हर्कवाद’
कोदालीले खाल्डो पुर्छ, तर राष्ट्रको भविष्य विचारले बनाउँछ । हर्कवाद शुरुवात हुन सक्छ— अन्त्य होइन । श्रम सम्मानको विषय मात्र नभई प्रणालीको आत्मा बन्नुपर्छ । राज्यलाई पसिना बगाउने मेसिन होइन, पसिनाको मूल्य बुझ्ने संस्था बनाउनुपर्छ ।
अब प्रश्न हर्क साम्पाङले कति ढुङ्गा बोके भन्ने होइन, ‘राज्यले कहिलेसम्म आफ्ना नागरिकलाई ढुङ्गा बोक्न बाध्य पारिरहने ?’ भन्ने हो । यही प्रश्नसँगै यो बहस इतिहासको कठ्घराभित्र उभिरहनेछ— हामीले साँच्चै ढुङ्गा बोक्ने मान्छेलाई सम्मान गर्यौँ कि ढुङ्गा बोकेको फोटो खिच्ने मान्छेलाई मात्र पूजा गर्यौँ ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ माघ २०८२, बुधबार 










