अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले आफ्नो १४औँ अधिवेशन यही डिसेम्बर ७ मा टोकियोमा आयोजना गर्ने भएको छ। संस्थाको ७८औँ नियमित साहित्य शृङ्खलालाई विशेष अवसरका रूपमा पारेर गरिन लागिएको कार्यक्रममा विविध विधाका रचना वाचन तथा विभिन्न लेखकद्वारा लेखिएका पुस्तकहरूको विमोचन समेत हुने आयोजकले जनाएको छ।

अधिवेशन टोकियोको सिनओकुबो क्षेत्रस्थित रोयल गार्डेन रेस्टुरेन्टमा आयोजना हुनेछ। उक्त अधिवेशनमार्फत आगामी दुई वर्षका लागि अनेसास जापान च्याप्टरको नयाँ कार्यसमिति चयन गरिनेछ। जापानस्थित नेपाली समुदायबीच साहित्यिक गतिविधिका कारण विशेष पहिचान बनाउँदै आएको अनेसास जापानको नेतृत्व चयनलाई समुदायले चासोपूर्वक हेरिरहेको छ।

संस्थाका अध्यक्ष अरुण पौडेलले जापानमा रहेका नेपालीभाषी, साहित्यप्रेमी र संस्कृतिप्रति सरोकार राख्ने सबैलाई आगामी कार्यसमितिमा जोडिन अपिल गरेकाे छ । अनेसास जापानले आफ्नो इतिहासमा प्रायः सर्वसम्मतिबाटै नेतृत्व चयन गर्दै आएको हुँदा यसपटक पनि सहमतिमै नयाँ नेतृत्व टुंगिने विश्वास व्यक्त गरिएको छ।

अनेसास जापान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका च्याप्टरहरूमध्ये पटक–पटक ‘सर्वोत्कृष्ट च्याप्टर’ पुरस्कार प्राप्त गरेको सक्रिय च्याप्टरका रूपमा परिचित छ।