काठमाडौँ । साहित्यकार भुवनहरि सिग्देलको नयाँ उपन्यास ‘मनस्विनी’ औपचारिक रूपमा सार्वजनिक भएको छ। प्रकाशक पेज टर्नरले शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको विशेष समारोहमा उपन्यासकार सिग्देल तथा समालोचक डा. अर्चना थापा र महेश पौड्यलले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएकाे थियाे ।

‘मनस्विनी’ पुरुष आकृतिको क्लीब पात्र गोविन्द र नारी पात्र मनस्विनीबीचको बेमेल विवाह र त्यसबाट उत्पन्न हुने मानसिक, सामाजिक तथा पारिवारिक जटिलताहरूमाथि केन्द्रित छ। उपन्यासले फरक लैङ्गिक स्वभाव भएका व्यक्तिहरूले भोग्नुपरेका समस्यालाई समाजको कठोर मूल्य–मान्यतासँग जोडेर प्रस्तुत गरेको छ।
कार्यक्रममा समालोचक डा. अर्चना थापाले उपन्यासले फरक लैङ्गिकताको संवेदनशील मुद्दालाई बहसको केन्द्रीय विषय बनाएको भन्दै प्रशंसा गर्नुभयाे । पुरुषप्रधान मूल्य–विधानले सिर्जना गरेको अन्याय र विभेदलाई चुनौती दिने यस्ता साहित्यिक कृतिहरू आवश्यक रहेको उहाँले बताउनुभयाे । समालोचक महेश पौड्यलले महिला तथा फरक लैङ्गिक पहिचान भएका व्यक्तिमाथि समाजले थोपरेका विभेदकारी मान्यताहरू पुनर्निर्माण गर्न आवश्यक रहेको भन्दै ‘मनस्विनी’ ले एउटा अर्थपूर्ण बहसको थालनी गरेको टिप्पणी गर्नुभयाे ।
उपन्यासकार सिग्देलले आफूले समाजमा देखे–भेटेका फरक लैङ्गिक स्वभावका व्यक्तिहरूको वास्तविक जीवन–अनुभूति र बेमेल विवाहले जन्माउने असहजतालाई केन्द्रमा राखेर उपन्यास रचना गरेको बताउनुभयाे। “सहज वैवाहिक सम्बन्धमा स्वाभाविक ठानिने यौन र प्रजननसम्बन्धी व्यवहार असहज सम्बन्धमा पीडाको मूल कारण बन्न सक्छन्; समाजलाई यही विषयतर्फ सचेत गराउनु नै उपन्यासको उद्देश्य हो,” सिग्देलले भन्नुभयाे ।