महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ मनाइयो । विविध कार्यक्रमका साथ ११५ औ लक्ष्मीजयन्ती नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा नेसास लक्ष्मीप्रसाद देवकोटा सम्मान तथा पुरस्कार कवि भुवनहरि सिग्देललाई समर्पण गरियो ।

सोही कार्यक्रममा कवि टङ्कमणि अधिकारीको कृति हिटलर र भाले पनि लोकार्पण भयो । सो कृति परशुराम भण्डारीले प्रकाशन गर्नुभएको हो । कृतिमा ८८ वटा गद्यशैलीका कविता समेटिएका छन् ।

कार्यक्रम तीन वटा संस्थाहरु नेपाली साहित्य संसार, साहित्य वाटिका र नोवेल साकोस साहित्यिक संस्थाको सहआयोजनामा भएको थियो । कार्यक्रम आयोजक संस्थाका तर्फबाट साहित्यकार डा. रमेश शुभेच्छुको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको आरम्भमै अक्षक्षका तर्फबाट कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्वागत गर्नुभयो । उहाँले भन्नुभयो आजका कार्यक्रम तीन वटा आयाममा सम्पन्न हुँदैछ : देवकोटा जयन्ती, देवकोटाका नाममा स्थापित नेसास लक्ष्मीप्रसाद देवकोटा सम्मान तथा पुरस्कार समर्पण र टंकमणि अधिकारीको कृतिलोकार्पणसहित उहाँमा स्वास्थ्यलाभको कामना अर्पण गर्ने ।

उहाँले सबै सहकार्य गर्ने संस्थासहित आफ्नो संस्थाकातर्फबाट स्वागत गर्नुभयो । स्वागतसँगै हहाँले आफ्नो उपस्थिति प्रतिनिधिका रुपमा भएको भन्दै देशविदेशमा रहेर सघाउनुहुने साथीहरुको नाम लिनुभएको थियो । संस्थाका संरक्षक रमेश भट्टराई तेन्गमको साथ सहयोगबाट संस्था अगाडि बढिरहेको बताउनुहुँदै रचनावाचनमा नियमित प्रस्तोताका रुपमा सक्रिय साथीहरुको नाम पनि लिनुभयो । उहाँले आजको युगका देवकोटालाई साक्षी राखेर हिजोका युगका देवकोटाको स्मरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ साहित्यकार प्रा.डा. वासुदेव त्रिपाठीले दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नुभयो । तस्बिरमा माल्यार्पण गरेर देवकोटाप्रति श्रद्धाञ्जली अर्पण गर्र्नुभयो । उहाँले सम्मानित प्रतिभा सिग्देललाई सम्मान गर्नका साथै अधिकारीको हिटलर र भाले कृतिको लोकार्पण गर्नुभयो ।

उहाँले आफ्नो सयमका विशिष्ट कवि– महाकविलाई महाकवि सिग्देललाई देवकोटाको नामको पुरस्कार दिन पाउँदा खुसी लागेको बताउँदै भुवनहरि सिग्देलको कवि प्रतिभाको चर्चा गर्नुभयो । त्यसै गरी उहाँले टंकमणि अधिकारीका कविता कृतिका केही उदाहरण लिनुहुँदै उहाँको कविता कलाको प्रशंशा गर्नुभयो । कार्यक्रममा सहित्यकार हरि अधिकारी, पूर्वमन्त्री एवम् साहित्यकार शंकरप्रसाद कोइराला, डा. गोविन्दमानसिंह कार्की, बलराम दाहाल, मनोज भण्डारी, गंगा लिगलल, एम पी. पाण्डे, जानुका मञ्जरी, विमला निरौला, लक्ष्मी गौतमलगायतले बोल्नुभएको थियो ।

सम्मानित प्रतिभा भुवनहरि सिग्देलले व्यङ्ग्यात्मक पारामा मैले केही जनेकै छैन लेखेकै छैन अब चाहिँ लेख्ने हौसला मिलेको छ भन्नु भयो । उहाँले थप्नुभयो मेरा जीवनमा अरु विभिन्न नामका पुरस्कार भन्दा यो यो देवकोटाका नामको पुरस्कारले विशेष अर्थ राख्न सक्छ । म यसबाट अभिप्रेरित बनी अगाडि बढ्नेछु । यसो भन्दै उहाँले एउटा कविता वाचन गर्नुभयो ।

कार्यक्रममा कृष्णप्रसाद पौडेलले देवकोटाको मुनामदनबाट काव्यांश वाचन गर्नुभएको थियो । कार्यक्रममा भावना घिमिरे र उर्मिला पन्त पाण्डेयलाई नेसासको आजीवन सदस्यता प्रदान गरिएको थियो । क्यान्सर पीडित स्रष्टा टंकमणि अधिकारी बचाऊ अभियानका संयोजजक एम.पी पाण्डेलाई पनि सम्मान गरिएको थियो । पाण्डेले अभियान सञ्चालन गरी अधिकारीको उपचार खर्च जुटाउन सघाउनुभएको थियो ।

कार्यत्रम नेपाली साहित्य संसार, साहित्य वाटिका र नोवेल साकोस साहित्य संस्थाको संयुक्त आयोजनामा भएको थियो । कार्यक्रममा सुशीला अधिकारी, भैरवी भुगोल, गीता अर्याल, विमला चन्द सानोले विमोचित कृतिबाट कविता वाचन गर्नुभएको थियो । कवि पीपलमणि सिग्देलले आफ्नो कविता वाचन गर्नुभएको थियो । सहआयोजक संस्था नोवेल साकोसका तर्फबाट राजन न्यौपानेले धन्यवाद ज्ञापनसहित सभा विसर्जन गर्नुभएको थियो ।