भक्तपुर । बाल साहित्य मण्डलले आफ्नो ६८औं स्थापना दिवस भव्यरूपमा साहित्यिक विमर्श तथा भेटघाट कार्यक्रमको आयोजना गरी मनाएको छ। भक्तपुर तेखापुखुस्थित मेधा माध्यमिक विद्यालयको सभाकक्षमा सम्पन्न कार्यक्रममा नेपालभाषाका कवि तथा संस्थापक योगेन्द्र प्रधान, साहित्यकार, संगीतकार, स्रष्टा तथा मण्डलका सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी  कवि योगेन्द्र प्रधानले मण्डलले विगतका दशकहरूमा नवोदित साहित्यकार तथा कलाकारहरूलाई साहित्य, कला र संगीतका क्षेत्रमा स्थापित हुन मञ्च प्रदान गरेको महत्वपूर्ण भूमिकाको स्मरण गर्नुभयो। उहाँले बाल साहित्य मण्डलले नेपाली र नेपालभाषी साहित्यिक आन्दोलनमा ऐतिहासिक योगदान दिएको उल्लेख गर्दै भविष्यमा पनि संस्थाले सिर्जनात्मक यात्रालाई अझ सशक्त बनाउने अपेक्षा व्यक्त गर्नुभयो।

कार्यक्रमका संयोजक तथा कथाकार ध्रुव मधिकर्मीले वर्तमान समयमा साहित्यिक संस्थाहरूको संख्या बढेसँगै छुट्टै पहिचान निर्माण गर्न चुनौती रहेको बताउँदै मण्डलले फरक ढंगका कार्यक्रम र गतिविधिहरू मार्फत नयाँ पुस्तालाई आकर्षित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले आगामी वर्षदेखि मण्डलले नवीन कार्यक्रम सार्वजनिक गर्ने योजना बनाइरहेको जानकारी पनि दिनुभयो।

संगीतकार गोविन्द भुजूले झी पुस्तकालयको स्थापना पछि मण्डलले साहित्य र संगीतका क्षेत्रमा नयाँ पुस्ताका प्रतिभालाई निरन्तर प्रोत्साहन गर्दै आएको इतिहास स्मरण गर्नुभयो। साथै, मण्डलका सदस्य गजेन्द्र भुजूले सबै सहभागीलाई स्वागत गर्दै संस्थालाई पुनर्जीवित गर्न सामूहिक सहयोग आवश्यक भएको बताउनुभयो।

विसं २०१४ सालमा भक्तपुर वंशगोपालमा युवाहरूको समूहद्वारा स्थापित बाल साहित्य मण्डलले हरेक वर्ष विजया दशमीको भोलिपल्टदेखि साहित्यिक सम्मेलन र विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ। यसरी लामो इतिहास बोकेको मण्डलले नेपाली साहित्य, संस्कृति र संगीतको क्षेत्रलाई सुदृढ पार्दै आएको छ।

कार्यक्रमको अन्त्यमा सहभागीहरूबीच मुक्त छलफल, साहित्यिक प्रस्तुतिहरू तथा सांगीतिक प्रस्तुति पनि गरिएको थियो, जसले कार्यक्रममा उत्साह र उर्जा थपेको थियो।