
काठमाडौं । नइ एकेडेमीले आयोजना गर्न लागेको ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ केही समयका लागि सारिएको छ । तिहारपछि सम्मेलन गर्ने तयारी भइरहेको अवस्थामा देशमा घटेको अकल्पनीय र कारूणिक घटनाले आयोजक संस्थालाई स्तब्ध पारेपछि कार्यक्रम मिति पछाडि सारिएको एकेडेमीले जनाएको छ ।
नइ एकेडेमीले नेपाल र भारतका विश्वविद्यालयबीच शैक्षिक, अनुसन्धानात्मक तथा सांस्कृतिक आदान–प्रदानलाई सुदृढ बनाउने उद्देश्यले दुई दिने सम्मेलन आयोजना गर्न लागेको हो । समालोचक प्रा.डा.वासुदेव त्रिपाठीको प्राज्ञिक नेतृत्वमा हुने यो सम्मेलनका संयोजक प्रा.डा.महादेव अवस्थी र सल्लाहकार प्रा.केशव सुवेदी रहनुहुनेछ । प्रा.डा.अवस्थी र प्रा.सुवेदी दुवै त्रिमूर्ति निकेतनका संयोजक समेत हुनुहुन्छ ।
सम्मेलनका लागि नेपाल र भारतका विभिन्न विश्वविद्यालयका २५ जना प्राज्ञ एवं विद्वानहरूले आफ्ना अनुसन्धानात्मक कार्यपत्रहरू (पेपर) पठाइसक्नुभएकाे छ । तीमध्ये विद्यावारिधि तहसम्मको पठनपाठन तथा अनुसन्धानमा संलग्न प्राज्ञहरूमा प्रा.डा.ऋषिराम शर्मा, प्रा.डा.कपिलदेव लामिछाने, प्रा.डा.कविता लामा, प्रा.केशव सुवेदी, प्रा.डा.कृष्णराज घतानी, प्रा.खेमराज जोशी, प्रा.डा.चक्रपाणि खनाल, प्रा.डा.चूडामणि बन्धु, प्रा.डा.जङ्गब चौहान, डा.टेकबहादुर छेत्री, प्रा.डा.ताराकान्त पाण्डेय, प्रा.डा.दयाराम श्रेष्ठ, प्रा.डा.दिवाकर प्रधान, डा.दैवकीदेवी तिम्सिना, प्रा.डा.पुष्प शर्मा, प्रा.डा.भरतकुमार भट्टराई, डा.रजनी काफ्ले ढकाल, डा.राजकुमार क्षेत्री, प्रा.डा.लक्ष्मणप्रसाद गौतम, प्रा.डा.लेखप्रसाद निरौला, समालोचक प्रा.डा.वासुदेव त्रिपाठी, प्रा.शिवगोपाल रिसाल, प्रा.डा.सञ्जय रार्ई, डा.अरुणा रार्ई, डा.साधना पन्त ‘प्रतीक्षा’ तथा डा.हर्कबहादुर शाहीजस्ता नामहरू समावेश छन् । यी कार्यपत्रहरूको समीक्षा प्रा.डा.महादेव अवस्थीले गर्नुभएको छ ।
एकेडेमीका अनुसार सम्मेलन आयोजनामा करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सम्मेलनका लागि आवश्यक सम्पूर्ण खर्च नइ एकेडेमीले आफ्नै स्रोतबाट व्यहोर्ने बताइएको छ । एकेडेमीका प्रतिनिधिले भने, “जनस्तरबाट सहयोग प्राप्त भए हामी धन्य हुनेछौँ, तर नेपाल सरकार वा भारत सरकारबाट हामीले कुनै आर्थिक सहयोग लिएका छैनौँ ।”
यस अवसरमा ८० ग्रामको म्याफ लिथो कागजमा १८x२४ इन्च आकारको हार्ड कभरमा ८ सय ७२ पृष्ठ लामो ‘नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’ शीर्षकको बृहत् ग्रन्थ प्रकाशित गरिने भएको छ । सो ग्रन्थ सम्मेलनमा सहभागी सबै प्राज्ञ तथा अतिथिहरूलाई निःशुल्क वितरण गरिने एकेडेमीले जनाएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

