
दोहा (कतार) । कतार फाउन्डेशनले प्रसिद्ध भारतीय चित्रकार मकबूल फिदा हुसेन (एम. एफ. हुसेन) को जीवन र कृतिलाई समर्पित ‘लौह वा कलम: मकबूल फिदा हुसेन संग्रहालय’ स्थापना गर्ने घोषणा गरेको छ। यो संग्रहालय नोभेम्बर २८, २०२५ मा सार्वजनिक रूपमा उद्घाटन गरिँदैछ, जसले कतारको सांस्कृतिक इतिहासमा एक नयाँ अध्याय लेख्ने अपेक्षा गरिएको छ।
एजुकेसन सिटीभित्र निर्माण भइरहेको यो संग्रहालय सिर्जनात्मकता, सांस्कृतिक संवाद र ज्ञान आदान–प्रदानको महत्वपूर्ण केन्द्रका रूपमा विकसित हुनेछ। कतार फाउन्डेशनले यसलाई कला, संस्कृति, परम्परा र नवप्रवर्तनलाई सम्मान गर्दै, विश्वस्तरको सांस्कृतिक संरचना निर्माण गर्ने आफ्नो दीर्घकालीन दृष्टिकोणको निरन्तरता मानेको छ।
संग्रहालयले आगन्तुकहरूलाई मकबूल फिदा हुसेनको कलाजगतमा गहिरो रूपमा प्रवेश गराउने अन्तरक्रियात्मक र अनुभूतिक अनुभव प्रदान गर्नेछ। चित्रकला, चलचित्र, ट्यापेस्ट्री, फोटोग्राफी र कविता लगायतका मल्टिमिडिया कथा–वाचनका माध्यमबाट हुसेनको सिर्जनात्मकता, दर्शन र प्रेरणाको यात्रालाई जीवन्त रूपमा प्रस्तुत गरिनेछ।
यो संग्रहालयको डिजाइन स्वयं हुसेनले तयार पारेको रेखाचित्रमा आधारित छ। उहाँले भवनलाई नै एउटा विशाल कला–कृति जस्तै परिकल्पना गर्नुभएकाे थियाे, जसले उहाँको नवप्रवर्तनशील दृष्टि र कलामा गरेका योगदानलाई मूर्तरूप दिन्छ।
कतार फाउन्डेशनले यो संग्रहालयलाई शिक्षा, संस्कृति र समुदायलाई जोड्ने आफ्नो मिशनको प्रतीकका रूपमा व्याख्या गरेको छ। फाउन्डेशनले एजुकेसन सिटीभित्र स्थापना गरेकाे शैक्षिक केन्द्रहरू, सांस्कृतिक स्थलहरू र सार्वजनिक स्थानहरू ज्ञान, अनुसन्धान र सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालनमा छन्। ‘लौह वा कलम: एम. एफ. हुसेन संग्रहालय’ यस प्रयासको नवीनतम उदाहरण हो।
फाउन्डेशनकी समुदाय संलग्नता तथा कार्यक्रम कार्यकारी निर्देशक खोलूद मोहम्मद अल अलीका अनुसार, “प्रेरणा र सिर्जनशीलताको स्थलका रूपमा निर्माण गरिएको यो संग्रहालयले कला र संस्कृतिसँग सम्बन्धित सिकाइ, आनन्द र प्रेरणाका लागि सबैका लागि खुला स्थान प्रदान गर्ने कतार फाउन्डेशनको प्रतिबद्धतालाई प्रतिविम्बित गर्छ।”
हुसेनका अमर कृतिहरू संग्रहालयमार्फत कतार फाउन्डेशनको सार्वजनिक कलासंग्रहमा थपिनेछन्। हाल एजुकेसन सिटीभर १०० भन्दा बढी कलाकृतिहरू प्रदर्शित छन्, जसले यस स्थानलाई एक जीवित कला–परिसर बनाएको छ।
यसका अतिरिक्त, हुसेनको अन्तिम उत्कृष्ट कृति ‘सीरू फी अल अर्ध’ जसले मानव सभ्यताको प्रगतिलाई उत्सवका रूपमा प्रस्तुत गर्छ संग्रहालयमा विशेष ग्यालरीमार्फत प्रदर्शन गरिनेछ। आगन्तुकहरूले यो कलाकृतिको जीवन्त रूप विशेष रूपमा तयार गरिएको प्रदर्शनीमा प्रत्यक्ष अनुभव गर्न पाउनेछन्।
यस संग्रहालयको उद्घाटनले कतारलाई आधुनिक कला र सांस्कृतिक अनुसन्धानको एक महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास लिइएको छ। कला र शिक्षालाई एकै स्थानमा जोडेर सिर्जनात्मक सोच, अन्तरसंवाद र प्रेरणाको वातावरण निर्माण गर्नु यसको मुख्य उद्देश्य हो।
‘लौह वा कलम: एम. एफ. हुसेन संग्रहालय’ केवल एक संग्रहालय मात्र होइन, आधुनिक कलाको गहिरो अध्ययन, सांस्कृतिक सहकार्य र अन्तरपीढी संवादका लागि खुला मञ्चका रूपमा उदाउनेछ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

