काठमाडौं । देश मनसूनको अप्रत्याशित प्रकोपले आत्तिएको बेलामा नेपाली साहित्य क्षेत्रमा भने उत्सवमय माहोल सृजना भएको छ। विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखा र ज्योति साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा ‘दशैं कविता उत्सव २०८२’ कार्यक्रम राजधानी काठमाडौंस्थित नयाँबानेश्वरको स्यान्को कट्टी रोल क्याफे एण्ड रेस्टुरेन्टमा भव्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रममा शिखर कवि शैलेन्द्र साकार प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्याे। त्यस्तै, बिनेसाम नेपाल र ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले कार्यक्रमको सभापतित्व गर्नुभएकाे थियाे। उद्घोषण कवि सुनिता अधिकारीले गर्नुभएकाे थियाे ।

कार्यक्रमका क्रममा प्रमुख अतिथि साकारले शुभकामना मन्तव्य दिँदै नेपाली साहित्यमा यस्ता उत्सवहरूले सिर्जनशीलता अभिव्यक्त गर्न तथा साहित्यकारबीच आपसी सम्बन्ध बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयाे। उहाँले आफ्नै रचना वाचन गरेर कार्यक्रमको गरिमा थप उच्च पार्नुभएकाे थियाे । साथै, कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याएका साहित्यकार तथा कविहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो।

त्यसैगरी, सभापति मणिराज सिंह, योगाज राजन, केदार प्रसाद मैनाली, रश्मि रिमाल, सुनिता अधिकारी, र जाँयस जया लगायतका प्रतिष्ठित साहित्यकारहरूले आफ्ना उत्कृष्ट कविता र सिर्जनाहरू वाचन गर्नुभएकाे थियाे । उहाँकाे कविताले वर्तमान सामाजिक परिवेश, प्रकृति, आस्था र मानवीय संवेदनाको विविध आयामलाई उजागर गर्नुभएकाे थियाे ।

कार्यक्रममा सहभागी कवि तथा साहित्यप्रेमीहरूले   ‘दशैं कविता उत्सव २०८२’ ले मनसूनको विपरीत परिस्थितिमा पनि साहित्यिक चेतना र उत्साहलाई जीवन्त बनाएको बताउनुभएकाे छ । उहाँहरूका अनुसार, यस प्रकारका कार्यक्रमले कवि तथा सिर्जनाकर्मीबीच आत्मीयता, सहकार्य र प्रेरणाको वातावरण निर्माण गर्छन्।

कार्यक्रमको समापनमा आयोजक संस्थाले आगामी वर्षहरूमा पनि यस्ता साहित्यिक उत्सवहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको थियो। सहभागीहरूका अनुसार, यस्तो प्रयासले साहित्यका साथै समग्र जनमानसमा पनि सकारात्मक ऊर्जा र उज्यालो वातावरण फैलाउन मद्दत पुग्ने विश्वास गरिएको छ।