काठमाडौं । कवि तथा गजलकार डा. कृष्णजंग राणाको ९४ औं जन्मोत्सवका अवसरमा उहाँका दुई कृति ‘मुटुभरि माया’ (नेपाली गजल संग्रह) र ‘दिल से दिल तक’ (हिन्दी–उर्दू गजल संग्रह) सार्वजनिक गरिएको छ ।
कार्यक्रममा दुवै कृति शरच्चन्द्र वस्ती, इम्तियाज वफा, डा. श्वेता दीप्ति, डा. धनेश द्धिवेदी र सर्जक स्वयं डा. कृष्णजंग राणाले सामूहिक रूपमा लोकार्पण गर्नुभयो ।
कृति विमोचनपछि बोल्दै शरच्चन्द्र वस्तीले डा. राणाको व्यक्तित्व झैं उहाँका रचनाहरू पनि सरल, सहज र गरिमामय भएको उल्लेख गर्नुभयो । इम्तियाज वफाले डा. राणाको कृति र व्यक्तित्व प्रेरणादायी रहेको बताउनुभयो भने डा. श्वेता दीप्तिले संग्रहभित्रको गजल गाएर जन्मोत्सवमा रंग थप्नुभयो ।
त्यस्तै, डा. धनेश द्धिवेदी, श्री रामचन्द्रमान सिंहलगायत वक्ताहरूले पनि आफ्ना मन्तव्य राख्नुभएकाे थियाे । कार्यक्रममा शान्ति शर्मा, मनमोहन थपलिया, धीरेन्द्र प्रेमर्षि, मुमताज अन्जुम, सनत कुमार वस्ती लगायतले संग्रहभित्रका गजलहरू गाउनुभएकाे थियाे ।
कार्यक्रममा अश्विनी कोइरालाले स्वागत मन्तव्य राख्नुभएको थियो भने वरदानजंग राणाले धन्यवाद ज्ञापन गर्नुभयो । डा. राणाले उपस्थित सबैलाई धन्यवाद दिँदै आफ्ना सिर्जना पनि सुनाउनुभएको थियो ।
कार्यक्रमको सञ्चालन सनत कुमार वस्तीले गर्नुभएको थियो । ‘मुटुभरि माया’ लाई साहित्यपोस्ट (ई–दैनिक) ले प्रकाशन गरेको हो भने ‘दिल से दिल तक’ लाई उर्दू प्रतिष्ठान ले प्रकाशित गरेको हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१६ असार २०८३, मंगलवार 










