सत्तारूढ पार्टीको एउटा गुटको आमसभा ‘विशाल’ देखाउन रातभरि बसमा हालेर बिहान काठमाडौं झारिएको लच्छु चौधरीलाई आमसभा शुरू भएपछि चियाको उग्र तलतल लाग्यो । ऊ स्वयंसेवकहरूको आँखा छलेर सुस्तरी छेउ लाग्यो र लुसुक्क एउटा चियापसलमा पस्यो । अरू टेबुल आफूजस्तै आयातित ‘जन’ ले भरिभराउ देखेपछि ऊ कुनाको टेबुलतिर लम्कियो, जहाँ एकजना बूढो मानिस एक्लै बसेको थियो । झुस्स दारी पालेको, आँखामा गाजल लगाएको, प्रभावशाली अनुहार र गठिलो जीउको ।

लच्छु कुर्सीमा बस्नै लाग्दा महाराजको नाम लिएर आमसभामा कुनै नेता चिच्यायो, ‘उनी जंगबहादुर बन्न चाहन्छन् ।’ त्यो सुनेर बूढो मुसुक्क हाँस्यो र आमसभातिर हेर्दै बर्बरायो, ‘महाराजलाई मात्र के भन्छौ, तिमीहरू पनि त जंगबहादुर नै बन्न चाहन्छौ नि । त्यही बन्न नपाएर यत्रो रुवाबासी चलेको छ !’

आठ कक्षा पास गरेको लच्छुले धेरै अघि स्कूलमा जंगबहादुर र राणा शासनका बारेमा पढेको थियो । तर के पढेको थियो, उसलाई याद थिएन । बूढाको कुराले उसको उत्सुकता जाग्यो । सोध्यो, ‘जंगबहादुर भनेको के हो ? राम्ररी बुझाइदिनोस् न ।’

‘यिनीहरूले भनेको जंगबहादुर त्यस्तो व्यक्ति हो, जसले आफूलाई कानून भन्दा माथि ठान्छ । जो शक्तिको भरमा कानून तोड्न हिचकिचाउँदैन,’ बूढाले हाँस्तै भन्यो, ‘सुन्छौ उसको कथा ?’

‘भन्नोस् न,’ लच्छुले बूढालाई पनि चिया मगायो ।

बूढो भन्न थाल्यो : आज भन्दा पौने दुई सय वर्ष अघि देशको सत्ता कब्जा गरेपछि जंगबहादुरले आफ्ना भाइहरूलाई एकान्तमा बोलाएर भने, ‘अब यो देशको मालिक म हुँ । मेरो हुकुम नै यहाँको ऐन, कानून हो । कानून मैले दिने हो, त्यसैले म कानून भन्दा माथि छु । मलाई कानूनले छुँदैन । ऐन–कानून लाग्ने रैतीलाई मात्र हो ।’

उनी भन्दैगए, ‘तिमीहरू मेरा भाइ हौ । हामीमा एउटै रगत बगेको छ । त्यसैले तिमीहरू पनि कानून भन्दा माथि हुनेछौ ।’

‘तर दाजै, हजूर श्री ३ महाराज होइबक्सन्छ । हामी श्री १ मात्र छौं । कानूनले हामीलाई कसरी चिन्ला ? माइला भाइले चिन्ता जाहेर गरे ।

जंगबहादुरले भने, ‘अब उप्रान्त मेरो नामलाई नै आफ्नो थर बनाऊ । थरको सट्टा जंगबहादुर राणा लेख्न थाल । त्यसपछि मेरो आत्मा तिमीहरूमा प्रवेश गर्नेछ । तिमीहरूको अनुहारमा म उपस्थित हुनेछु । अनि ऐन–कानून तिमीहरूबाट डराउनेछ । त्यसले तिमीहरूलाई छुनेछैन ।’

यसप्रकार जंगबहादुरले अनेक अनुहारमा एक शताब्दी चानचुन ऐन–कानून भन्दा माथि रहेर देशको शासन चलाए ।

लच्छु हाँस्यो, ‘कसरी थाहा पाउनुभयो तपाईंले, जंगबहादुरले आफ्ना भाइहरूलाई एकान्तमा भनेको कुरा ? आफैंले सुनेजस्तो गरी भन्नुहुँदैछ त ?’

‘किनभने, म स्वयं जंगबहादुर हुँ ।’

बूढो गम्भीर थियो । तर लच्छुलाई लाग्यो, ऊ जिस्किंदैछ । उसले पनि जिस्केरै गम्भीरताको अभिनय गर्‍यो, ‘तपाईं मरेकै डेढ सय वर्ष हुन लाग्यो…’

‘म मरेर सिद्धिने प्रजाति होइन । त्यही भएर आज पनि मेरो श्राद्ध गर्दैछन् । पिण्ड खान आइरहन्छु । आएपछि एक दुई दिन यतै बसिन्छ । हाम्रो एक दिन तिमीहरूको एक महीना हो भन्ने त तिमीलाई थाहै होला ।’

लच्छुले पत्याउने कुरै थिएन । तर उसलाई बूढाको कुरा रमाइलो लागिरहेको थियो । बूढाले कुरा अगाडि बढायो, ‘राणा शासन सिद्धिएपछि छ दशक जति राजाको राज चल्यो । तर राजवंशमा मेरै रगत प्रवाहित भइरहेको थियो । त्यसैले राजाहरू मेरै भाका दोहोर्‍याइरहन्थे, ‘संविधान र कानून हामीले दिने हो, त्यसैले हामी तीभन्दा माथि छौं । हामीलाई तिनले छुँदैनन् । ऐन–कानून लाग्ने प्रजालाई मात्र हो, राजा र राजपरिवारलाई होइन ।’

‘अब त राजा पनि छैनन् । गणतन्त्र आएकै १५ वर्ष हुन लागिसक्यो,’ लच्छुले प्रश्न गर्‍यो, ‘अब कोही जंगबहादुर कसरी बन्न सक्छ ?’

‘पहिले एउटा राजा हुन्थे । तिनलाई लखेटेपछि थुप्रै राजा पैदा भएका छन्,’ बूढाले भन्यो : ती सबैको टाउकामा तिम्रा महाराज छन् । उनी भन्छन्, ‘म संविधान भन्दा माथि छु । कानून मैले दिने हो, त्यसैले म कानून भन्दा माथि छु । मलाई संविधान, कानून केहीले छुँदैन । कानून लाग्ने जनतालाई मात्र हो ।’

उनी बिहान उठ्नासाथ ऐना हेर्छन् । त्यसमा आफ्नो होइन, मेरो अनुहार देख्छन् र दंग पर्छन् । तर आफूलाई मभन्दा शक्तिशाली ठान्छन् । भन्छन्, ‘जंगबहादुर त श्री ३ मात्र थिए । उनीभन्दा माथि श्री ५ हुन्थे, जसलाई राजा भनिन्थ्यो । अहिले दुवै छैनन् । त्यसैले दुवै मै हुँ । श्री ३ पनि, श्री ५ पनि । दुवैलाई जोडेर म श्री ८ महाराज हुँ । संविधान र कानूनले मेरो इच्छा अनुसार सास फेर्छन् । मैले जे भन्छु, त्यही संविधान हो । त्यही कानून हो । त्यही ऐन हो । त्यही नियम हो ।’

तिम्रा महाराज मेरा नयाँ संस्करण हुन् । उहिले मेरो अनुहार राणा खलकमा मात्र देखिन्थ्यो, अहिले उनको अनुहार जोसुकैमा पनि देखिन्छ ।

बूढाको कुरा लच्छुलाई हावादारी गफ भन्दा बढी लागेको थिएन । उसले बूढालाई उडाउने हिसाबले भन्यो, ‘खोइ, मैले त आजसम्म कसैमा महाराजको अनुहार देखेको छैन । तपाईंका कुरा कसरी पत्याऊँ ?’

‘तिम्रा आँखा आधा टालिएका छन् । पख है त, म तिनलाई पूरै खोलिदिन्छु । अनि छर्लंग देख्नेछौ छोटे महाराजहरूलाई,’ बूढाले भन्यो र आफ्नो आँखाबाट साइँली औंलाले अलिकति गाजल निकालेर लच्छुका आँखामा लगाइदियो ।

साँच्चै चमत्कार भयो । टाउको घुमाएर पल्लो टेबुलतिर हेर्दा लच्छुलाई लाग्यो, महाराज चुरोट तान्दै चिया खाइरहेका छन् । पहिले त ऊ झस्क्यो, तर ध्यान दिएर नजर लगाउँदा थाहा पायो, त्यो त उसकै गाउँको गुण्डा रहेछ, जो ऊसँगै बस चढेर काठमाडौं आएको थियो । नजाने कतिलाई लुटेको, पिटेको थियो उसले, तर कहिल्यै कानूनको पन्जामा परेको थिएन ।

लच्छु पुलकित भएको देखेर बूढाले भन्यो, ‘ल हिंड अब, तमाशा हेर्न ।’

दुवै जना चियापसलबाट निस्के र यस्सो आमसभातिर दृष्टिपात गरे । लच्छुले देख्यो— मञ्चमा आसीन पाँचै जना परम–वरिष्ठ नेता, जो हरेक सभामा पानी पिई पिई महाराजलाई गाली गर्न नामूद थिए, भाइ–महाराज देखिन थालेका थिए । तिनको गर्जन आफ्नै कर्महरूबाट डराएर गरिएको आर्तनाद जस्तो सुनिन्थ्यो । कोही मारिएकाहरूले, कोही घाइतेहरूले, कोही होली वाइन पिलाउनेहरूले, कोही नोटका सुटकेसहरूले, कोही सुन तस्करहरूले लखेट्लान् भनेर डराए जस्तो ।

अर्को सडकमा २० जना जतिको जुलूस थियो, थरीथरीका प्लेकार्ड बोकेर महाराजविरुद्ध नारा लगाउँदै हिंडेको । उनीहरू आफूलाई आफैंले नागरिक अगुवा घोषित गरिरहेका थिए, स्वतन्त्रता पक्षधर बताइरहेका थिए, आफ्नै नारालाई सर्वोत्कृष्ट मानेर दंग परिरहेका थिए र आफ्नो समर्थन नगर्नेलाई प्रतिगामीको उपाधि वितरण गरिरहेका थिए । रमाइलो त के भने, तिनीहरूको मुहारमा पनि महाराज नै हाँसिरहेका थिए ।

बूढाले लच्छुलाई भन्यो, ‘यसरी सडक नापेर हुँदैन । अब विभिन्न कार्यालय, निर्माणस्थल र मन्त्रालयतिर लागौं ।’

उनीहरू जहाँ पुगे, महाराज त्यहीं उपस्थित थिए । लच्छुले देख्यो— शक्तिको आडमा कानून मिच्ने र आफूलाई कानून भन्दा माथि ठान्ने हरेक व्यक्तिमा उनै क्रियाशील रहेछन् । कहीं व्यापारीको भेषमा एक करोडको सामान दिएर २२ करोडको बिल बनाइरहेका थिए त कहीं २२ करोड कर तिर्नुपर्नेमा एक करोड तिरिरहेका थिए । कर्मचारीको भेषमा दुवैको काम फत्ते गराइदिने पनि उनै थिए । कहीं अर्बौंको ऋण नतिरेर बैंक डुबाइरहेका थिए त कहीं समयमा पुल नबनाएर लागत दोब्बर बनाइरहेका थिए । कतै सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराइरहेका थिए भने कतै राजनीतिक कार्यकर्ता बनेर बजेट पचाइरहेका थिए । भ्रष्टाचार गर्ने उनै थिए र भ्रष्टाचारीलाई उन्मुक्ति दिन पनि उनै सक्रिय थिए ।

मन्त्रालयमा मन्त्री र सांसदबीच सौहार्दपूर्ण संवाद चलिरहेको थियो । मन्त्री ‘यो त नियमले मिल्दैन यार’ भन्दैथियो । सांसद ‘नियमले मिल्ने भए तिमीकहाँ किन आउँथें ?’ भनेर पेल्दैथियो । सांसदले ‘एउटा हस्ताक्षर धस्काउँदा दुई करोड आउँछ, यस्तोमा पनि नियम खोज्ने ?’ भनेपछि मन्त्रीले ‘पैसा चाहिं सालीको खातामा हालिदेऊ नि’ भन्दै तत्काल सही गर्‍यो । सांसदले ‘यो हो नि मन्त्रीको पावर भनेको’ भनेर फुर्क्यायो भने मन्त्रीले ‘कानून नतोडेसम्म आफूसँग पावर भएको अनुभूति नै हुँदैन यार’ भनेर ङिच्च गर्‍यो । दुवैले अट्टहास गरे । दुवैको अनुहारमा महाराज झुल्किसकेका थिए ।

अन्त्यमा उनीहरू सरकारी अस्पताल छिरे । डाक्टरको कोठाबाहिर १२ जना बिरामी प्रतीक्षा गरिरहेका थिए । एउटाले गेटपालेलाई अलि पर लगेर के खासखुस गर्‍यो कुन्नि, उसले सात जनाको पालो मिचेर त्यसलाई भित्र छिराइदियो । अरू बिरामी गेटपालेलाई गाली गरिरहेका थिए, तर उसको अनुहार मलिन होइन, प्रफुल्लित थियो । लच्छु जिल्ल पर्‍यो, उसको काँधमाथि त महाराज पो मुस्कुराइरहेका रहेछन् । बूढाले उसको कानमा साउती गऱ्यो,  ‘यो पनि आफ्नो ढोकाको महाराजै त हो नि !’

घाम अस्ताउन लागेको थियो । एउटा सेल्फी खिचिहाल्नुपर्‍यो भनेर लच्छुले बूढालाई आफ्नो पछाडि उभ्यायो र मोबाइल समातेर दाहिने हात अगाडि तन्कायो । बूढो मान्छे फ्रेममा परेन । मोबाइल दायाँ–बायाँ सार्दा पनि ऊ देखिएन । ‘नछेकिने गरी उभिनोस् न’ भन्दै लच्छु पछाडि फर्कंदा बूढो गायब भइसकेको थियो ।