पोखरा । साहित्यकार सरुभक्त र तीर्थ श्रेष्ठका कविता संग्रहहरू पोखरामा लोकार्पण गरिएका छन् ।

पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसांप) को आयोजनामा भिमसेनटोलस्थित नेवा छेंमा आयोजित समारोहमा सरुभक्तको ‘सर्वहारा धरतीभरि यज्ञका काला घोडाहरु’ र तीर्थ श्रेष्ठको ‘हिउँमा लेखिएका नामहरु’ लोकार्पण गरिएको हो ।

कार्यक्रममा कलाकार दुर्गा बराल वात्स्यायन, गायिका हरिदेवी कोईराला, नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखे, पोयुसांपका कावा अध्यक्ष लक्ष्मण थापा, साहित्यकार सरुभक्त र तीर्थ श्रेष्ठ तथा प्रकाशक बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले दुवै कृतिको लोकार्पण गर्नुभएकाे थियाे ।

५० वर्षअघि पोखराको साहित्यिक जमघटको स्मरण गर्दै कलाकार बरालले पोयुसांपको यात्रा र विकासमा प्रकाश पार्नुभयाे । उहाँले पोखराको कला, साहित्य र संस्कृतिको उन्नयनमा योगदान पुर्‍याउने हस्तीहरूको भूमिकालाई अतुलनीय भनेर प्रशंसा गर्नुभयाे ।

गायिका कोईरालाले दुवै कविले आफ्नो सिर्जनामा पोखराको भूगोल र जनजीवनलाई समेटेको उल्लेख गर्दै उहाँहरूको मित्रता र घनिष्ठताको प्रशंसा गर्नुभयाे ।

कवि तीर्थ श्रेष्ठले आफ्ना बाल्यकालका साथी तथा कवि सरुभक्तसँगको लामो साहित्यिक यात्राको स्मरण गर्दै पोयुसांपको सुरुवाती दिनदेखिका अनुभवहरू सुनाउनुभयाे । उहाँले सरुभक्तको ‘चट्टान’ र आफ्नो ‘एकदिन’ शीर्षकको कविता वाचन गर्नुभयाे ।

सरुभक्तले आफ्नो ५० वर्षे साहित्यिक यात्राको अनुभव सुनाउँदै लेखनप्रतिको आफ्नो अगाध तृष्णालाई जोड दिनुभयाे । उहाँले सृष्टिका रहस्यहरूमा रहेको चमत्कार र त्यसले जगाउने तृष्णालाई आफ्नो लेखनको मूल प्रेरणाको रूपमा चित्रण गर्नुभयाे । उहाँले तीर्थ श्रेष्ठको ‘हिउँमा लेखिएका नामहरु’ र आफ्नो ‘आमा’ शीर्षकको कविता सुनाउनुभयाे ।

पोयुसांपका कावा अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव एमडी काफ्लेले गर्नुभएकाे थियाे । कार्यक्रममा दुवै कविहरूका कृतिहरूको लोकार्पणसँगै पोखराको साहित्यिक जगतको लामो इतिहास र वर्तमान अवस्थाको झलक पनि प्रस्तुत गरिएको थियो ।