सिड्नी । अस्ट्रेलियाको सिड्नीमा नेपथ्य ब्यान्डको शनिबार सम्पन्न कन्सर्टले अहिलेसम्मकै ठूलो सफलता हासिल गरेको छ। साढे पाँच हजारभन्दा बढी दर्शकले खचाखच भरिएको होर्डन पभिलियनमा नेपथ्यको प्रस्तुतिले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो। तीन हप्ता अगाडि नै टिकट बिक्री भइसकेको यस कन्सर्टमा दर्शकहरूको उत्साह देखेर नेपथ्यका सदस्यहरू पनि उत्तिकै हौसिनुभएको थियो ।

पूर्वी नेपालको पदयात्रामा संकलित गीत ‘कोशीको पानी’ बाट सुरु भएको कन्सर्ट दुई घण्टा लामो थियो। हरेक गीतमा दर्शकहरूको उमंग र नाचगानले हल गुञ्जायमान बनाएको थियो। युवायुवतीदेखि लिएर परिवारसहित आएका दर्शकहरूसम्म सबै नेपथ्यको संगीतको लयमा झुम्नुभएको थियो ।

यो होर्डन पभिलियनमा नेपथ्यको दोस्रो प्रस्तुति हो। यसअघि लुना पार्कमा आयोजित कन्सर्टको सफलतापछि अझ ठूलो हलमा नेपथ्यको माग बढेको छ। यसपटकको शोको टिकट पनि पहिल्यै नै बिक्री भइसकेपछि दोस्रो शो थपिएको छ। नेपालयका किरणकृष्ण श्रेष्ठले सिड्नीमा बढ्दो दर्शकको संख्याले आगामी दिनमा अझ आकर्षक योजना बनाउन उत्साह थपेको बताउनुभयो ।

कन्सर्टमा नेपाली दर्शकहरू मात्रै थिएनन्, अस्ट्रेलियाका अन्य जातजातिहरू पनि नेपथ्यको संगीतको जादुमा लोभिनुभएको थियो। जेसिन्टा नामकी एक महिलाले आफ्ना छोराछोरीहरूसँगै पाँच घण्टा गाडी यात्रा गरेर सिड्नी आइपुग्नुभएको थियो । उहाँका छोरा ह्याट्रिकले केही साताअघि क्यानबेरामा नेपथ्यको कन्सर्टमा ‘फ्रन्ट अफ हाउस अडियो’ को काम गर्नुभएको थियो ।

नेपथ्यका मुख्य गायक अमृत गुरुङले सिड्नीलाई आफ्नो घरजस्तो आत्मीय सहर भएको बताउँदै दर्शकहरूलाई नेपाली भाषाको संरक्षण र नेपालका बालबालिकाको शिक्षामा सहयोग गर्न आग्रह गर्नुभयो ।

आयोजक प्रदीप पाठकले कन्सर्टको सफलतामा सबैलाई धन्यवाद दिँदै आइतबार हुने दोस्रो शोमा पनि उल्लेख्य दर्शकको अपेक्षा गर्नुभएको छ । सिड्नीमा आइतबारको प्रस्तुति दिएपछि नेपथ्य ब्यान्ड भोलिपल्टै स्वदेश फर्कनेछ।