काठमाडौं । कवि दीप दर्पणको पहिलो कवितासंग्रह ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचित भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कवि श्रवण मुकारुङ, समालोचक राजकुमार बानियाँ, कवि ज्योती जंगल तथा लेखक दीप दर्पणले सामूहिक रुपमा कवितासंग्रहको विमोचन गरेका हुन् ।

विमोचन कार्यक्रममा बोल्दै कवि तथा गीतकार श्रवण मुकारुङले कविता संग्रहले समाजको यथार्थतालाई मार्मिक ढंगले प्रस्तुत गरिएको बताए । कवि ज्योती जंगलले संग्रहका हरेक कविताले कुनै न कुनै कथानक बोकेको चर्चा गर्दै कविले निम्न वर्गीय मर्मलाई चित्रण गरेको बताइन् ।

समालोचक राजकुमार बानियाँले आफू कविताको भोको रहेको चर्चा गर्दै आफूले अध्ययन गर्न चाहेको कविताहरूमध्ये दीप दर्पणको कवितासंग्रह पनि परको बताए । उनले कविताले चित्रण गरेको विषयको गहिराईले पाठकको मन जित्ने बताए ।

कवितासंग्रहमा निम्न मध्यम वर्गीय नेपालीले भोगेका यथार्थपरक विषयवस्तुलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । रोल्पा स्थायी घर भएका दर्पणको यो पहिलो कवितासंग्रह हो । पहिलो संग्रहले आफूलाई उत्साहित बनाएको बताउँदै यसबाट आउने प्रतिक्रिया र सल्लाह सुझावअनुसार दोस्रो संग्रह पनि ल्याउने बताए ।

कार्यक्रममा कवि रीमा केसी, महेश क्षितिज, सुरज राणा र राधिका अधिकारीले कवितासंग्रहबाट छानिएका कविता वाचन गरेका थिए भने कार्यक्रम सञ्चालन कवि प्रज्वल अधिकारीले गरेका थिए ।

५२ वटा कविता समेटिएको पुस्तकको प्रकाशक सांग्रिला बुक्स रहेको हो ।