खुसी मान्छेको मात्र होइन प्रााण्ीको पनि खोज हो । खुसी हुने तरिका फरकफरक हुन्छन् । जिन्दगीभर हामी जे कर्म गर्छौं त्यो खुसी नै खोजिरहेका हुन्छौं । कहाँनेर हामी चुक्यौं भने त्यो खुसी के हो ? यो कुराको बोक्रे पहिचान त भयो तर गुदी पहिचान हुन सकेन ।

खुसीबारे यसको वैज्ञानिक कारण उप्काउन चाहेँ । हाम्रो मस्तिष्कबाट दुई चिज उत्पादन हुन्छ । एउटा जैविक इलेक्ट्रीसिटी हो । त्यसलाई अल्फा, बिटा, थिएटा, डेल्टा र गामा लेभलमा विभाजन गरेको छ । यो हाम्रो मस्तिष्कले बिजुली उत्पादन गरिरहेका ब्यान्ड हुन् । कोही मान्छेले ओलम्पिकमा या कुनै साहित्यकारले कुनै गज्जबको कुरा आविष्कार गर्छन्, कलाकारले कला प्रस्तुत गर्छन् भने उनले त्यो अघिपछि प्रस्तुत गर्न नसकिरहेको र कुनै एउटा विशेष अवस्थामा आउँछ भने त्यसलाई गामा भनिन्छ । योबेला दायाँबाया सबै बिर्सिइन्छ, जे गर्न खोजेको त्यहीमात्र सोचिन्छ अरु केही सोचिँदैन । धार्मिक दृष्टिमा हेर्दा यसलाई ‘अर्जुनदृष्टि’ भनेर पदावली प्रयोग गर्दै आएका छौं । अर्जुनले अरु साथीजस्तो नानाभाती कुरा गरेनन्, उनले भने – गुरुवर मैले चराको आँखाबाहेक केही देख्दिनँ ।

हो, जसले आफ्नो लक्ष्यबाहेक केही देख्दैन उसले आफ्नो आधा काम पहिल्यै सक्काइसक्यो । अब आधा काम प्रयोग गरेपछि थाहा हुन्छ । अर्जुनदृष्टिको कुरा सयपल्ट होइन हजारपटक गर्छौं तर हाम्रो अर्जुनदृष्टि किन हुँदैनभन्दा अर्जुनदृष्टि हुन मस्तिष्क बिटाबाट अल्फामा, अल्फाबाट ठेटामा, ठेटाबाट डेल्टामा र डेल्टाबाट पनि पर गामाको लेभलमा इलेक्ट्रिसिटी उत्पादन हुन्छ । त्यो भए हामी सबैसँग अर्जुनदृष्टि हुन्छ । वैज्ञानिकमा भए उसले आविष्कार गर्छ, खेलाडीमा भए खेलमा गोल्डमेडल जित्छ, साहित्यकार भए अब्बल दर्जाको साहित्य, कालजयी कृति जन्मिने गर्दछ ।

सफल हुनु भनेको दिमाग गामा लेभलमा चल्नु हो । खुसी हुनु भनेको के त ? खुसी हुनु भनेको हाम्रो मस्तिष्क अल्फा लेभलमा आउँछ । अल्फा भनेको इलेक्ट्रिसिटी कम उत्पादन हुनु हो । कम हुनु भनेको हामीले शान्तिको अनुभूति गर्छौं, आनन्द महसुस गर्छौं । सेरोटोनिन रसायन ब्लक हुनासाथ तपाईं हामी खुसी हुन सक्दैनौं । यसको खुसी भनेको न धन, न प्रतिष्ठा, न प्रतिष्ठामा कतै हुँदैन भन्ने धार्मिक हिसाबले पहिल्यै आएको थियो । अहिले वैज्ञानिकले पनि खुसी र दुःख दुवै केमिकलले हो भन्ने वैज्ञानिक रुपले प्रमाण्ीत छ । तनाव छ, दुःख छ भन्ने कुरा आर्थिक, सामाजिक कारणले आएको होला तर यो पीडा स्ट्रोस हर्मोनबाट आउँछ । सफलताा, खुसी, पीडा, असफलता बाहिरको संसारमा हुँदैन । यो सबै कुरा मान्छेको दिमागमा हुन्छ । यो कुरा बुझेन भने जिन्दगीभर हामी खुसी खोज्न जानेहरू दुःख पाएर फर्कन्छौं ।

खुसी हुनु र सुखी हुनु एउटै कुरा होइन । खुसी हुन मःम खाए हुन्छ, एकछिन नाच्दा र हाँस्दा हुन्छ । सुखी हुनु भनेको जीवनप्रति सन्तुष्ट र आनन्दित हुनु हो । यो दुवै कुरामा पनि बायोकेमिकल चाहिन्छ । त्यो कुरा पनि हाम्रै दिमागमा छ । हामी भाग्न खोजिरहेको दुःख पनि हाम्रै शरीरभित्र केमिकलको रूपमा छ । त्यसकारण हामीले सुख जीवन बाँच्ने हो भने मनोविज्ञानलाई बुझ्नपर्छ । जबसम्म हामीले कारण बुझ्दैनौं तबसम्म निवारण गर्न सक्दैनौं । म दुःखी हुनुको कारण मेरा बाबा रिसाएको, श्रीमतीले गड्बड गरेकाले, श्रीमान्ले बेविचार गरेकाले भन्न सकिन्छ । तर त्यसो होइन । बिहान पूर्वबाट सूर्य उदाएको र साँझ डुबेको देख्छौं । न सूर्यको उदय हुन्छ न डुब्छ । आखिर घुम्ने त पृथ्वी हो । अनि घुम्ने पृथ्वी नदेख्ने, नघुम्ने सूर्य घुमेको देख्छौं । बाहिरबाट हामीले धेरै धोखा खाइरहेका हुन्छौं ।

कहिलेकाहीँ म साथीहरूलाई सोध्छु – तपाईहरूले बोटमा केरा देख्नुभएको छ ? सबैले हात उठाएर देखेका छौं भन्नुहुन्छ । कसैले बोटमा केरा देख्दैन । सबैले देख्ने केराको बोक्रा हो । सुन्तला कसैले देख्दैन, बोक्रा देख्छन् । त्यसकारण मान्छेले सत्य देख्दैनन्, सत्यको बोक्रा देख्छन् । त्यो बोक्रालाई सत्य भन्ठान्छ जसको कारणले ऊ सत्यसम्म कहिल्यै पुग्दैन । सुःखको गुदी, मनोविज्ञान के हो त ? संसारमा सबैभन्दा सजिलोचिज खुसी हुनु हो । किनभने खुसी हुन हाँस्दा, नाच्दा पुग्छ । हामीलाई किन गाह्रो पर्‍यो ? किनभने हामी धेरै विचार गर्छौं । खुसी हुन एकाग्र हुनपर्छ । म बोलिरहँदा म त्यहाँ केन्द्रीत भइनँ भने मैले बोल्नै सक्दिनँ । स्रोताले सुन्न ध्यान दिएन भने स्रोता खुसी हुँदैन ।

खुसी भनेको केमिकल भएकाले पैसा चाहिँदैन । खुसी हुन हामी पैसा कमाउन खोज्छौं । खुसी हुन जुन चिज गरिरहेको छ त्यसमा एकाग्र्र हुनु नै काफी छ । सन् १९७० को दशकमा अमेरिकामा रिकार्ड निक्सनको पालोमा ड्रग्स प्रतिबन्ध लगाउने घोषणा भयो । त्योबेला अफिमबाट बन्ने किसिमकिसिमका ड्रग्स प्रयोग गरिरहेका थिए । तर, वैज्ञानिकहरुको खोजी ड्रग्समा किन लागे भनेर रह्यो । त्यो सेवनपछि डोपमिन भन्ने केमिकल निस्किन्छ । डोपमिन सक्रिय भए खुसी भइन्छ, सक्रिय नभए खुसी भइँदैन । ड्रग्सले खुसी दिने हो कि केमिकलले दिने हो ? बोक्रामा खुसीको कारण ड्रग्स हो तर वास्तविक कारण दिमागभित्रको त्यो केमिकल हो । यो बुझेपछि वैज्ञानिकले सारा युवा बटुले । उनीहरूलाई बिहान कतै नहेरी दौडने भनेर अह्राए । केही समयपछि भाग्दाभाग्दा नलडेसम्मको विन्दुमा दौडन लगाए । जसले ड्रग्स लिन्थे प्रायले छोड्थे किनकि दौडँदादौडँदा डोपमिन सक्रिय हुन्छ । त्यसलाई अचेल ‘रनर्स हाई’ भनिन्छ । भाग्दा पनि निस्कने केमिकल त्यही हो ।

ड्रग्समा मान्छे किन लाग्छ ? उसले भाग्दा त्यही केमिकल उत्पादन हुन्छ जुन ड्रग्समा हुन्छ भन्ने थाहा पाउँदैन । मान्छेलाई ड्रग्समा जान आवश्यक नै छैन । आमाबाबाले छोराछोरी, शिक्षकले विद्यार्थीलाई सिकाउन सकेनन् । ड्रग्स लिनु र भाग्नु समान हो । ड्रग्स लिँदा तपाईं खुसी भएपनि परिवार दुःखी हुन्छ । त्यहीकारण कुन बाटो रोज्ने भन्ने कुरा युवा भ्रममा परे भने हामी बोक्रालाई सत्य मानेर बसेका छौं ।

मान्छेमा जति बढी नकरात्मकता आउँछ त्यति बढी काम गर्न छोड्दिन्छ । जस्तैः डिप्रेसन भएका मान्छे हिँड्दा पनि विस्तारै हिँड्छ, हात पनि विस्तारै चलाउँछ, खाँदा पनि विस्तारै खान्छ । शरीरको मोसन नै सुस्त हुन्छ । जब डिप्रेसनको उल्टो हुन्छ त्योबेला फटाफट हिँड्छ । भनाइको मतलब तपाईं कति खुसी हुनुहुन्छ भन्ने कुरा तपाईंको स्पिडले बताउँछ । जति बढी नकारात्मक विचार आउँछ त्यति काम गर्ने जाँगर घट्छ । काम गर्ने जाँगर नचलेपछि तपाईं असफल हुनुहुन्छ ।

देश विकास हुन युवा खुसी हुनपर्छ । किनकि जहाँ दुःख छ उसले विकास गर्न चाहँदैन । अचेलका युवामा जोसजाँगर छैन भन्ने कुरा बोक्रामात्र हो । गुदी कुरा के हो भने अचेलका युवालाई हामीले खुसी बनाउन सकेनौं । हाम्रा कलेजले उनीहरूलाई खुसी हुन दिएन, प्रेसरमात्र दियो । घरले पनि सुत्नुपर्ने बच्चालाई बिहानै उठाएर स्कुल पठाउँछ । यी सबैबाट आमाबाबा, परिवार, प्रशासनबाट तनाव दिने काम भयो । देशलाई विकास गर्न खुसी पनि चाहिन्छ ।

पोखरा आएर जति पोखरा खोजिन्छ हामी खोज्दाखोज्दै बाहिर जान्छौं । खुसी पनि त्यही हो । खुसी खोपडीमा छ । त्यसलाई खोज्ने होइन । जे गर्दा दुःखी भइन्छ त्यो नगरौं । के काम गर्दा दुःखी हुन्छौं ? दुःख रातजस्तो हुन्छ । वैज्ञानिकहरूले अँध्यारो छैन भन्छन् । त्यो प्रकाशको अभावमात्र हो भन्छन् । दुःख भन्ने चिज हुँदैन, त्यो खुसीको अभावमात्र हो ।

(पोखरामा जारी ११ औं संस्करणको नेपाल लिटरेचर फेस्टिभलमा ‘युवा र खुसी’ सत्रमा योगी विकासानन्दले दिएको प्रवर्चनको अंश)