एक दर्जन जति कृतिहरू श्री ३ को तथ्य वृत्तान्तको सेरोफेरोमा प्रकाशित गरिसकेका पुरुषोत्तम शमशेर ज.ब.रा कृत ऐतिहासिक पुस्तक हो – “जङ्गबहादुर र राणाकालीन दर्पण” । साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई प्रस्तुत पुस्तक प्राप्त भएको छ ।

जङ्गबहादुर र राणाकालीन दर्पण

जङ्गबहादुर र राणाकालीन दर्पण

३ सय ४० पृष्ठमा आबद्ध यस पुस्तकमा ‘नेपाल अधिराज्यको थकाली जङ्गबहादुर’, ‘श्री ३ जङ्गबहादुरका रानीहरूको’, ‘जङ्गबहादुरका छोराहरू’, ‘जङ्गबहादुर राणाका छोरीहरू’, ‘नानी तथा सुसारेहरू’, ‘राणाजी हो, सङ्घर्ष होला नि’, ‘चाँद कुँवर–चाँद कौर’, ‘दरबारका भारद्वारहरू’ शीर्षक समावेश छन् र यसबाट राणाशासन सम्बन्धी बाह्य र आन्तरिक प्रसङ्गहरू पाइन्छन् ।

विशेष गरी यस पुस्तकमा छोटो क्याप्सनसहित राणाकालीन दुर्लभ फोटाहरू समावेश छन् ।

“मैले आफ्नो शैशवकालमा कमाण्डर इन्चिफ रुद्रशमेर ज.ब.रा.को छत्रछायामा हुर्कने मौका पाएँ । २००७ सालको क्रान्तिलाई सफलतामा पुर्याउन जिज्यू बुवाज्यूबाट अमूल्य योगदान गरेको कुरा त इतिहाससिद्ध छ । २००७ सालपछि हामी सी क्लास बनाइएका राणाहरूको प्रजातन्त्र लागेपछि हामी अब दोबारियाबाट सडकमा झारियौँ । तापनि हामीले प्रजातन्त्रलाई मलजल गर्न पछि परेनौं । रुपन्देही रुद्रपुरको एक हजार बिगाहा जमिन, कीर्तिपुर र काठमाडौंका राम्रा राम्रा जमिनसहित बीरगञ्ज मुडभरी दरबार र चारबुर्जा दरबार (हाल निर्वाचन आयोग रहेको दरबार) समेत गुमाएर एक रुपैयाँ पनि मुआब्जा (क्षतिपूर्ति) नपाएर छोड्यौं ।” लेखकीयमा पुरुषोत्तम शमशेर ज.ब.रा लेख्छन्, “हामी नेपाल आमालाई निरङ्कुशको जञ्जिरबाट मुक्त गर्ने अभिलाषा पूर्ण गर्न चाहन्थ्यौं । त्यसरी दासदासी र सेवकसेविका सहितको जीवनपद्धतिलाई हामीले तिलाञ्जली दियौं, केवल नेपाल आमाको मुक्तिको निम्ति ।”

“यस कृतिमा राणाकालीन परिवेशको आरम्भबाट सो पारिवारिक शासनको अन्त्य र त्यसपछि प्रजातन्त्रकालीन अस्थिर राजनीतिक परिदृश्यलाई समेत विभिन्न लेखहरू मार्फत उतार्ने काम निख्खर झल्किने भएकोले पाठक वर्गलाई पढेपछि तृप्तिको अनुभूति हुने छ ।” प्रा. डा. राजाराम उपाध्याय सुवेदी लेख्छन्, “त्यसैले राणाकालीन अरु कृतिहरूको तुलनामा प्रस्तुत कृतिको विशेष महत्त्व रहनाको कारण, यसमा विभिन्न पात्रहरूका बारेमा जे जे घटनाहरू घटे ती घटनाहरूका सन्दर्भमा चलेको अन्तर्द्वन्द्व, आन्तरिक तनाव, पारिवारिक चालबाजी, राणाशासनकालको बाह्य र आन्तरिक आवरणबारे उदाङ्ग पारिएको एक सफल र सजीव ऐतिहासिक वर्णन हुनु यस कृतिको विशेषता रहन गएको छ ।”

शिखा बुक्सले प्रकाशनमा ल्याएको पुस्तकको मूल्य ६ सय ७५ रुपियाँ रहेको छ ।