‘ज्याग्दीखोला साहित्य प्रतिष्ठान’ले वि.स. २००६ चैत्रमा पाल्पाको तानसेनमा जन्मेर भैरहवामा साधनारत कथाकार वनमाली निराकारलाई ‘ज्याग्दीखोला साहित्य सम्मान’– २०८० द्वारा सम्मान गर्ने भएको छ ।
आधुनिक नेपाली कथाको दोस्रो चरणका सशक्त हस्ताक्षरका रुपमा परिचित वनमालीका ‘समयको पर्खाल’ कथासङ्ग्रह (२०४६), ‘लोकतन्त्रको शङ्खनाद’ कवितासङ्ग्रह (२०६२), ‘पत्र संचयन’ (२०६३), ‘विवरूका कथाहरु’ (२०६५), ‘एउटा बस्तीको कथा’ कथासङ्ग्रह– (२०७१) लगायतका कृतिहरु प्रकाशित छन् ।
वर्तमानमा पनि लेखनमै क्रियाशील वनमालीका कथाहरु सामाजिक यथार्थमा आधारित छन् ।
यस सम्मानद्वारा हालसम्म २०७४ मा डा. महेश्वर शर्मा, २०७५ मा प्रा.डा. गोविन्दराज भट्टराई, २०७६ मा केदार शर्मा ढकाल, २०७७ मा देवीप्रसाद वनवासी, २०७८ मा ईश्वरी ओझा र २०७९ मा पीताम्बर नेपाली सम्मानित भइसकेका छन् ।
पुरस्कार तथा सम्मानका लागि प्रतिभा चयन गर्न प्रतिष्ठानले सल्लाहकार त्रिलोचन ढकालको संयोजकत्वमा प्रतिष्ठानका उपाध्यक्ष अग्नि पल्लव र सदस्य रेशम गोतामे रहेको तिन सदस्यीय प्रतिभा छनोट समिति गठन गरेको थियो । उक्त समितिको सिफारिसअनुरुप नै यसपटक ‘विश्वराधानेत्रा साहित्य पुरस्कार’ २०८० सुकुम शर्मालाई, ‘ज्याग्दीखोला साहित्य सम्मान’ २०८० वनमाली निराकारलाई र ‘ज्याग्दीखोला साहित्य–कला पुरस्कार’ २०८० पोषराज पौडेललाई प्रदान गर्ने भएको हो ।
पुरस्कार तथा सम्मानको कार्यक्रम दसैंपछि आयोजना गर्नुका साथै यी तीनवटै पुरस्कार प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको जानकारी प्रतिष्ठानका सहसचिव नारायण मरासिनीले दिनुभयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।