भरतपुर, जेठ १४ / प्रगतिशील कवि प्रकाश चापागाईंको एकल कविता वाचन कार्यक्रम गरिएको छ । अक्षर समूह चितवनको आयोजनामा भरतपुरस्थित फोर सिजन पार्टी प्यालेसमा शनिबार कवि चापागाईंले कविता सुनाउनुभयो ।
कार्यक्रममा कवि चापागाईंले ९ वटा कविता आफ्नै आवाजमा प्रस्तुत गर्नुभयो । अतिथि वाचकका रूपमा निम्त्याइएका कविहरू नारायण पोखरेल, शिव त्रिपाठी र पुरुषोत्तम आचार्यले कवि चापागाईंका दुईदुईवटा कविता प्रस्तुत गर्नुभयो । सपना अर्याल रैलाको संगीतमा कवि चापागाईंले एउटा कवितालाई स्वर भर्नुभएको थियो ।
कवि चापागाईंले सबै कविता छन्दमा सुनाउनुभयो । २०४६ सालको जनआन्दोलनमा सक्रिय कवि प्रहरीको गोली लागेर घाइते समेत हुनुभएको थियो । उहाँका कवितामा त्यतिबेलाको विद्रोह झल्किनुका साथै सबै कविता मर्मस्पर्शी थिए । चापागाईं प्रगतिवादी कविका रूपमा परिचित हुनुहुन्छ ।
कार्यक्रममा भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी, कवि भूपिन, कर्णबहादुर बानिया, उदय अधिकारीलगायतले कवि चापागाईंको कविता लेखन र व्यक्तित्वका बारेमा बोल्नुभएको थियो । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीले कवि चापागाईँलाई उहाँका दाजु चेतकान्त चापागाईंको उत्तराधिकारी भएको बताउनुभयो ।
`कवि चेतकान्त चापागाईं कोकिल छन्दमा कविता सुनाउनुहुन्थ्यो । दाइको काव्य चेत भाइमा पनि आएको छ । कवि प्रकाश चापागाईं दाजुका उत्तराधिकारी कवि हुनुहुन्छ´, रेग्मीले भन्नभुयो ।
अक्षर समूहका संस्थापक एवम् कवि भूपिनले अक्षर समूहले एकल कविता वाचन कार्यक्रममा मुलुकका प्रसिद्ध कविहरूलाई उभ्याएको स्मरण गर्दै अहिले प्रकाश चापागाईंलाई उभ्याउन पाउँदा अक्षर समूहको ओज बढेको बताउनुभयो । `कविहरू सरुभक्त, दिनेश अधिकारी, तीर्थ श्रेष्ठलगायतको लहरमा कवि प्रकाश चापागाईं थपिनु नेपाली कवितामाथिको उपलब्धि पनि हो´, भूपिनले भन्नुभयो । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डाक्टर अशोक थापाले चितवनमा काम विशेषले आउँदा कवि प्रकाश चापागाईंको कविता सुन्न पाएको र कविता सुनेर आनन्द आएको प्रतिक्रिया दिनुभयो । चापागाईंका मर्मस्पर्शी भावका छन्द कविताले आफूलाई मोहित बनाएको पनि थापाले बताउनुभयो ।
अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातले पछिल्लोपटक संस्थाले कृति विमर्श कार्यक्रम धेरै गरेको भए पनि छन्द कविता सुन्ने स्रोताको चाहना बमोजिम यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । सचिव लेखराम सापकोटाले सहजीकरण गर्नुभएको कार्यक्रममा करिब १०० जनाको उपस्थिति थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।