काव्य लेखेर नेपाली साहित्यमा पदार्पण गरेका लेखकलाई साहित्यपोस्टले प्रदान गर्ने ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार २०७९’का लागि छोटो सूची जारी गरिएको छ । यो सूचीमा पहिलो कृतिका रूपमा काव्य (कविता, गजल, मुक्तक, महाकाव्य आदि) लेखेका पाँच लेखक समावेश छन् ।
युवा कवि मिलन समीरको पहिलो कृति, शृङ्खला–कविता ‘प्रिय दुश्मन’ पुरस्कारको छोटो सूचीमा पर्न सफल भएको छ ।
समीरले कवितामा दुश्मनलाई मीठो सम्बोधन गरेका छन् । उनले शृङ्खलाबद्ध कविताका माध्यमबाट मानिसको परस्परमा विरोधी प्रवृत्ति तथा बहुरुपी चरित्रको उजागर गरेका छन् । नेपाली साहित्यमा कमै लेखिने शृङ्खला–कविताका माध्यमबाट समीरले समग्र समाज र समाजको वैचारिकीको चिरफार समेत गरेका छन् ।
कवितासङ्ग्रहमा ‘प्रिय दुश्मन’ शीर्षकमा ३१ शृङ्खला–कविताहरु सङ्ग्रहित छन् । राजकुमार ज्ञवाली प्रकाशक रहेको कविताकृतिको प्रमुख वितरकमा सम्पूर्ण किताब रहेको छ ।
छोटो सूचीमा समीरको ‘प्रिय दुश्मन’सँगै मिमबहादुर परियारको कवितासङ्ग्रह ‘कर्नाली हाँस्दो छ’, रोहिणी रसिकको छन्द कवितासङ्ग्रह ‘छन्द आराधना’, प्रदीप रोदनको गजलसङ्ग्रह ‘मफलर’ र प्रीति आत्रेय ज्ञवालीको कवितासङ्ग्रह ‘अनुभूतिको इन्द्रेनी’ रहेका छन् ।
यसअघि ०७९ सालमा प्रकाशित डेब्यु लेखकका ४२ काव्य कृतिहरूबाट ११ कृतिको ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कारको लामो सूची’ सार्वजनिक गरिएको थियो । पाँच काव्य कृतिको छोटो सूची तिनै ११ कृतिहरूको मूल्याङ्कनबाट छानिएको हो ।
छोटो सूचीमा रहेका डेब्यु लेखकका पाँच काव्य विधाका कृतिहरूमध्येबाट सर्वोत्कृष्ट एकले ५० हजार रुपियाँ राशिको पुरस्कारका साथमा सम्मानपत्र पाउने छन् ।
‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को प्रायोजन लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीले गर्नुभएको छ । शिक्षा र स्वास्थमा व्यवसायिक प्रगति गर्नुभएका कवि भौकाजीका दर्जनौं गीतहरु लोकप्रिय छन् ।
अगामी चरणमा, काव्य, आख्यान र गैरआख्यान गरी तीन विधाका उत्कृष्ट तीन पुस्तकको घोषणा गरिने बताइएको छ । ती तीन विधाका तीन कृतिमध्येबाट एक-एकलाई ५०-५० हजार राशिको पुरस्कार तथा सम्मान औपचारिक समारोहको आयोजना गरी प्रदान गरिनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।